साउदी पुगेका फरार मगर १७ वर्षपछि पक्राउ

0
Shares

काठमाडौं (नेस) ।

इन्टरपोलबाट रेड कर्नर नोटिस जारी भएका फरार अभियुक्त उदयपुर बेलका नगरपालिका–६ का गोविन्द मगरलाई साउदी अरेबियाबाट १७ वर्षपछि पक्राउ गरी नेपाल ल्याइएको छ । कर्तव्य ज्यान मुद्दामा फरार रहेका मगर साउदी अरेबियामा पक्राउ परेपछि प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाबाट खटिई गएको प्रहरी टोलीले नेपाल ल्याएको हो ।

अभियुक्त मगर २०६१ साल मंसिर १३ गते मानबहादुर तामाङलाई हत्या गरेपछि फरार रहेका थिए । उनी छद्म भेषमा साउदी पुगेको पत्ता लागेपछि इन्टरपोलको सहयोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका अनुसार मगरलाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला उदयपुरलाई बुझाइएको छ ।

इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको अनुरोधमा इन्टरपोल शाखामार्फत इन्टरपोल महासचिवालयले अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउका लागि २०७७ साल माघ २६ गते अभियुक्त मगरविरुद्ध रेड कर्नर नोटिस जारी गरेको थियो । उक्त घटनामा संलग्न रहेका अर्का जयवीर राई भने अझै फरार छन् । प्रहरीले उनको खोजीलाई तीव्र बनाएको दाबी गरेको छ ।

दुई युवा मिलेर किन तामाङको हत्या गरे भन्ने प्रसंग भने अनौठो रहेको छ । प्रहरीका अनुसार मृतक तामाङकी छोरी र हाल फरार रहेका राई बीच प्रेम सम्बन्ध रहेको थियो । छोरीले बेजातसँग प्रेम गरेको भन्दै तामाङ र उनकी पत्नीले छोरीको प्रेम सम्बन्ध टुटाएर अर्कै केटासँग विवाह गराउने तयारी गरेको थाहा पाएपछि राईले आफ्नी प्रेमिकालाई भगाउने प्रयास गरेका थिए । उक्त प्रयास असफल भएपछि मगर र राई तामाङ परिवारलाई नै सखाप पार्ने योजना बनाएर तामाङको घर गएका थिए । दुई युवा मिलेर हत्याको योजना बनाएर २०६१ साल मंसिर १३ गते खुकुरी प्रहार गरी तामाङको हत्या गरेको प्रहरीले जानकारी दिएको छ । राईले प्रेमिकाको बुबासँग निहुँ खोज्दै गर्दा मगरले लुकाएर ल्याएको खुकुरी झिकेर तामाङको टाउकोमा प्रहार गरेका थिए ।

मृतकका छोरा जितबहादुर तामाङले प्रहरीलाई दिएको जाहेरीमा आफ्ना बुबालाई ती दुईले तान्दै घरबाट बाहिर निकालेर गर्धनमा निर्मम प्रहार गरी हत्या गरेको उल्लेख छ । जाहेरीमा राईले मगरको हातको खुकुरी लिएर आफ्नो बुबा मानबहादुर तामाङको गर्धनमा हिर्काएको उल्लेख छ ।

रिसले क्रूद्ध बनेका मगर र राईले जितबहादुरलाई पनि खुकुरी प्रहार गरेर घाइते बनाएपछि खुकुरी नचाउँदै अब, परिवार नै सखाप पार्छौं भनेका थिए तर गाउँलेहरू घटनास्थलमा भेला भएकाले उनीहरू त्यहाँबाट भागेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक सुवास बोहोराले जानकारी दिनुभयो ।