हत्या लुकाउन अपहरणको नाटक

0
Shares

बैतडी ।

हत्या लुकाउन बैतडीको सुर्नया गाउँपालिका– ६ का एक व्यक्तिले अपहरणको नाटक गरेको प्रहरीको अनुसन्धानले देखिएको छ । प्रहरीका अनुसार अभियुक्त २३ वर्षीय हरीश अवस्थी हुन्, उनले सुर्नया– ६ कै ३० वर्षीय डम्बर अवस्थीको हत्या गरेर नजिकै जंगलमा गाडेका थिए । बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रमेश पालका अनुसार लामो अनुसन्धानपछि अभियुक्त पत्ता लागेका हुन् । अहिले प्रहरीले शवसमेत फेला पारिसकेको छ ।

यही पुस २३ गते हरीशले आफू अपहरणमा परेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राखेपछि प्रहरीले उनीमाथि आशंका गरेको थियो । हरीशले गाउँकै दुई जनाले ‘विप्लव’ समूहलाई आरोप लगाएर आफ्नो अपहरण गरेको बताएका थिए । स्थानीय एक विद्यालयका शिक्षकसमेत रहेका हरीशले २२ गते राति आफूलाई अपहरण गरेर बाँकेको राप्ती नदीकिनारको शौचालयमा राखेको जनाएका थिए । उनको फेसबुक पोस्टकै आधारमा बैतडी प्रहरीले बाँके प्रहरीलाई जानकारी गरायो । त्यसपछि शुक्रबार बेलुकी ८ बजे नै बाँकेस्थित राप्ती नदीकिनारबाट उनको उद्धार गरेर बैतडी ल्याइएको थियो ।

मृतक डम्बर विप्लव कार्यकर्ता रहेको अनुसन्धानले देखाएको छ । उनी मंसिर १४ गतेदेखि बेपत्ता थिए । उनी आठ–दश दिन बिराएर घरमा आउने हुनाले शुरूमा घर–परिवारले वास्ता गरेका थिएनन् । धेरै दिन बित्दा पनि घर नआउँदा र सम्पर्क पनि नगर्दा घर–परिवार खोजलतास गर्न थाले । विप्लव समूहको पार्टीलाई खोजी गरिदिन डम्बरका परिवारले आग्रह गरेका थिए भने विप्लव समूहले डम्बर पार्टीको सम्पर्कमा नरहेको जवाफ फर्काएका थियो ।

बेपत्ता भएका डम्बर फेला नपरेपछि घर–परिवारले प्रहरीलाई निवेदन दियो । र, कल डिटेल माग भयो । केही दिन ढिला गरेर कल डिटेल प्राप्त भएपछि हेर्दा मंसिर १४ गते बेलुकी ७ः१५ मा डम्बरको मोबाइलमा अन्तिम कल हरीशको भेटियो । सोही कलपछि डम्बर बेपत्ता भएकाले हरीशप्रति आशंका बढ्यो । पीडित परिवारका अनुसार १४ मंसिरमा हराइरहेका डम्बरको मोबाइलमा हरीशको अन्तिम कल भएको कुरा बाहिर आएपछि उनले आफ्नो हाउभाउ परिवर्तन गरेका थिए । त्यसपछि हरीशले हत्या लुकाउन अपहरणको नाटक रचेको प्रहरीले बताएको छ ।

अपहरणमा परेको नाटक गरेका उनलाई उद्धार गरेर बैतडी प्रहरीले उनीमाथि शंका गर्दै अनुसन्धान अघि बढायो । प्रहरीले सोधपुछ गर्दै जाँदा हरीशले डम्बरको हत्या गरेर गाडेको भनी स्वीकार गरेका थिए । बैतडी प्रहरीले जनाएअनुसार हरीशले डम्बरको टाउकोमा ढुंगाले हिर्काएर मारेको बताएका छन् । डम्बर र हरीशको घर १० मिनेटको दूरीमा छ । उनीहरूको परिवारबीच केही खटपट रहेको बताइएको छ ।

घटनाका विषयमा थप अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक पालले बताउनुभयो । डम्बरको हत्यामा अन्यको संलग्नतासमेत रहेको आशंकामा सूक्ष्म तरिकाले अनुसन्धान भइरहेको उहाँले जनाउनुभएको छ । हरीशमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ ।