धुलिखेल नगरपालिकाद्वारा पत्रकारहरूको स्वास्थ्य बिमा गर्ने निर्णय


मोतीराम तिमल्सिना, काभ्रे । 

धुलिखेल नगरपालिकाको ५३ औ नगर कार्यपालिका बैठकले जिल्लाका सबै सञ्चारकर्मीहरूको स्वास्थ्य बिमा गरिदिने निर्णय गरेको छ । यस अघि धुलिखेल नगरपालिकाले पत्रकार महासंघको समन्वयमा सूचना केन्द्र स्थापना गर्ने गरी बजेट विनियोजन गरेको थियो ।

धुलिखेल नगरपालिकाले काभ्रेपलान्चोक जिल्लालाई कार्य क्षेत्र बनाई निरन्तर पत्रकारिता गर्ने पत्रकारहरूको स्वास्थ्य बिमा गरिदिने निर्णय गरेको छ’–नगर प्रमुख अशोक ब्याञ्जुले भन्नुभयो–‘पत्रकार महासंघसँगको समन्वयमा पत्रकारहरूको सूची उपलब्ध भए पछि नगरपालिकाले धुलिखेल नगरपालिकामा उपचार गराउने गरी स्वास्थ्य बिमा गरिदिने निर्णय गरेको हो ।

नगरपालिकाले पत्रकारहरूको सूची प्राप्त भए पछि आवश्यक कागजात सहित स्वास्थ्य बिमाका लागि लाग्ने रकम एकमुष्ट बिमा अभिकर्तालाई उपलब्ध गराउनेछ ।त्यस्तै कार्यपालिका बैठकले धुलिखेलमा कार्यालय रहेका आन्तरिक राजश्व कार्यालय, जिल्ला निर्वाचन कार्यालय, खानेपानी तथा सरसफाइ कार्यालय र जनस्वास्थ्य प्रयोगशाला कार्यालयलाई जग्गा उपलब्ध गराउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलले जानकारी दिनुभयो । त्यस्तै विपन्न, गरिब दलित, सीमान्तकृत र गरिबिको रेखा मुनी रहेका नागरिकहरूलाई शौचालय निर्माणमा ५० प्रतिशत अनुदान दिने निर्णय गरेको छ ।