सहमति नजुटेपछि एमाले पर्साको अधिवेशन स्थगित


कृष्णउदास खनाल, वीरगन्ज ।

पर्साको वीरग्गन्जमा मंगलबारबाट सुरु भएको एमाले पर्साको अधिवेशन स्थगित भएको छ । नेतृत्व चयनमा सहमति नजुटेपछि नेकपा एमाले पर्साको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको हो ।

वीरगन्जमा मङ्गलवार उद्घाटन समारोह सकिएपछि नेतृत्व चयनका लागि मंगलबार राति नै  बन्द सत्र सुरु भएको थियो ।तर, बन्द सत्रमा नेतृत्व चयनमा सर्व सहमति हुन नसकेपछि अध्यक्ष मण्डलले सूचना टाँसेर अर्को सूचना जारी नभए सम्मका लागि अधिवेशन स्थगित गरेको एमाले वीरगन्ज महानगर कमिटीका उपाध्यक्ष महेश दासले बताउनुभयो  । दासका अनुसार , बन्द सत्रमा अध्यक्ष , सचिव र कोषाध्यक्षको राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित गरिएको थियो ।त्यसपछि नेतृत्व चयनका लागि जिल्ला अध्यक्ष प्रभु हजारको अध्यक्षतामा ५ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको थियो ।

अध्यक्ष मण्डलमा हजरासंगै राजकुमार गुप्ता, निर्मला देवकोटा , अरविन्द सिंह र राजनारायण पनि थिए ।दासका अनुसार , सुरु अध्यक्ष मण्डलको बैठक बसेर जिल्ला अध्यक्षमा सर्वसम्मत सहमति जुटाउने प्रयास गरिएको थियो । तर, अध्यक्ष मण्डलको बैठकमा जिल्ला अध्यक्षका बारेमा सहमति नजुटेपछि बन्द सत्रमा आएर अध्यक्ष मण्डलका अध्यक्ष हजराले आफूले गर्ने निर्णय सर्वसम्मत रूपमा पास गरिदिन प्रस्ताव गरेका थिए ।

तर बन्द सत्रमा सहभागी प्रतिनिधिहरुले सहमति नजुटे चुनावी प्रक्रियामा जान माग गरेका थिए ।त्यसपछि अध्यक्ष मण्डलका अध्यक्ष र सदस्यहरू बन्द सत्र हलबाट बाहिर निस्किन लाग्दा प्रतिनिधिहरुले प्रदर्शन गर्दै उनीहरूलाई अवरोध पनि गरेका थिए ।त्यसपछि अध्यक्ष मण्डलका अध्यक्ष हजराले सूचना टाँस गरेर अधिवेशन अर्को सूचना नभए सम्मका लागि स्थगित गरिएको घोषणा गरेको दासले जानकारी दिनुभयो  ।

एमाले पर्साको अध्यक्षका लागि पूर्व सांसद विचारी यादव , जिल्ला सचिव मनोज गुप्ता , संविधानसभा सदस्य जय प्रकाश थारु , महानगर कमिटी सचिव सुन्दर कुर्मी , नेताहरू विश्वम्भर शर्मा र नवराज शर्मा गरी ६ जना आकांक्षी थिए ।