कोरोनाविरुद्ध तयारी अवस्थामा रहन मन्त्री लामाको निर्देशन

0
Shares

हेटौंडा, (नेस) ।

वागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले बुधबार हेटौंडा अस्पताल र स्वास्थ्य निर्देशनालय निरीक्षण गरी कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि गरेका तयारीबारे जानकारी लिनुभएको छ ।मन्त्री लामाले निरीक्षणका क्रममा हेटौंडा अस्पतालको नयाँ भवन, कोभिड वार्ड, अक्सिजन प्लान्ट र सेवाप्रवाहबारे जानकारी लिनुभयो । उहाँले कोरोना संक्रमणको जोखिम बढिरहेको भन्दै पूर्व तयारीको काम अघि बढाउन पनि निर्देशन दिनुभयो । मन्त्री लामाले स्वास्थ्यकर्मीले कोभिडको अघिल्लो चरणमा खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनका लागि पनि तयारी अवस्थामा रहन निर्देशन दिनुभयो ।

प्रदेश सरकार कोरोना संक्रमण नियन्त्रण, रोकथाम र उपचारका लागि प्रतिवद्ध रहेको भन्दै उहाँले अस्पताल टिमलाई पनि सोहीअनुसार प्रतिवद्ध रहन आग्रह गर्नुभयो । निरीक्षणका क्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटासहित टोलीले अस्पतालको काम कारबाहीबारे जानकारी गराउनुभएको थियो ।

स्वास्थ्य निर्देशनालयको निरीक्षण गर्दै मन्त्री लामाले अझै पनि वागमती प्रदेशका कतिपय जिल्लामा लक्ष्यअनुसार खोप अभियान सञ्चालन हुन नसकेको भन्दै यसका लागि प्रभावकारी ढंगले अभियान सञ्चालन गर्न निर्देशन दिनुभयो । खोप अभियानका लागि जिल्लाका सबै स्वास्थ्य एकाईले जनचेतनामूलक गतिविधि गरेर नागरिकलाई खोप अभियानमा आकर्षित गर्नुपर्नेमा मन्त्री लामाको जोड थियो । कार्यक्रममा स्वास्थ्य निर्देशनालय प्रमुख महेश्वर श्रेष्ठलगायतले निर्देशनालयले खोप अभियान र स्वास्थ्य सेवाको क्षेत्रमा गरिरहेका कामबारे जानकारी दिनुभएको थियो ।