भारतबाट विराटनगर आउन पीसीआर अनिवार्य

बिहीबारदेखि विद्यालय बन्द

0
Shares

विराटनगर ।

भारतमा तीव्र गतिले फैलिरहेको कोरोना संक्रमणबाट हुने जोखिमलाई कम गर्न जिल्ला प्रशासन कार्यालयले भारतबाट नेपाल प्रवेश गर्नेहरूले कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र र ४८ घण्टाभित्र कोरोना परीक्षण गरेको रिपोर्ट अनिवार्य गर्ने निर्णय गरेको छ । जिल्ला कोरोना व्यवस्थापन समितिको बैठकले जोखिमकै कारण उपभोग्य वस्तुको किनमेलका लागि भारतीय बजार जोगवनी जाने प्रवृत्ति नियन्त्रण गर्ने निर्णय पनि गरेको छ । स्वास्थ्य सुरक्षालाई कडाई गरे पनि बैठकले तत्काल कुनै पनि प्रकारको निषेधाज्ञा जारी गर्ने विषयमा भने छलफल गरेको छैन ।

संक्रमण रोकथाम र नियन्त्रणलाई प्राथमिकता दिँदै भारतबाट फैलन सक्ने संक्रमणको जोखिमलाई कम गर्न प्रशासन कार्यालयले सीमा क्षेत्रमा परीक्षणलाई तीव्र बनाउने, एन्टिजेन परीक्षणबाट पोजिटिभ देखिएमा पीसीआर परीक्षण गर्न पठाउने र रिपोर्ट पोजिटिभ आएको खण्डमा अवस्था हेरी आइसोलेसन वा अस्पताल पठाउने प्रबन्ध मिलाउने निर्णय गरेको छ । भारतबाट नेपाल प्रवेश गर्नेहरूलाई होल्डिङ सेन्टरमा होल्ड गरिराख्ने र संक्रमित पहिचान भएमा विराटनगरका विभिन्न स्थानलाई आइसोलेनका लागि तयारी अवस्थामा राख्न विराटनगर महानगरपालिकालाई आग्रह गर्ने निर्णय पनि गरिएको छ । जिल्ला कोरोना व्यवस्थापन समितिको बैठकले विराटनगरको जैन भवन, अतिथि सदन, मारवाडी सेवा सदन, काली मन्दिर, आर.आर.एन. विराटनगरको भवनलाई आइसोलेसन स्थलको रूपमा प्रयोग गर्न महानगरलाई आग्रह गरेको छ । कोरोना संक्रमणको जोखिम बढे पनि तत्काललाई स्वास्थ्य सुरक्षा र सर्तकताका विषयमा आम नागरिकलाई सचेत गराउनेतर्फ बढी जोड दिएको मोरङका सहायक प्रजिअ महेशराज तिम्सिनाले बताउनुभयो । विराटनगर क्षेत्रमा मास्क अनिवार्य गर्दै नेपाल प्रहरीले यात्रुलाई मास्क लगाउन निर्देशन दिन थालेको छ । यसका लागि चोकचोकमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । विराटनगरमा केही समययता मास्क नलगाउने क्रम बढेको थियो ।

यसैबीच कोरोना महामारी फैलिएपछि विराटनगर महानगरपालिकाले पुस २९ गतेबाट सबै विद्यालयहरू बन्द गर्न निर्देशन दिएको छ । बुधबार एक सूचना प्रकाशित गर्दै महानगरपालिकाले पुस २९ गतेबाट माघ १५ गतेसम्म विद्यालय बन्द गर्न निर्देशन दिएको हो । महानगरपालिकाले शुक्रबारसम्मको पूर्वनिर्धारित परीक्षा भने सञ्चालन गर्न पाउने बताएको छ । विद्यालयको वर्षे र हिउँदे बिदामा कटौती हुने गरी माघ १५ गतेसम्मका लागि बिदा दिन सूचना जारी गरेको महानगरले परीक्षा भएको अवस्थामा भने शुक्रबारसम्म स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । संघीय सरकारले पुस २६ गतेबाट विद्यालय बन्द गर्न निर्देशन दिए पनि विराटनगरका विद्यालयहरू सञ्चालनमा थिए । महानगरको निर्देशनपछि अब विद्यालय बन्द हुनेछन् । यसैबीच मोरङ प्रशासनले कोरोना नियन्त्रणको लागि सीमामा प्रभावकारी परीक्षण गर्ने निर्णय गरेको छ ।

सीमा नाकामा भइरहेको एन्टिजेन परीक्षणलाई अझ प्रभावकारी बनाउने र पोजेटिभ देखिएमा नेपाल आउनेको हकमा तत्कालै पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाउन विराटनगर महानगरपालिकालाई निर्देशन दिएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताउनुभयो । महानगरलाई तत्कालै आइसोलेसन सेन्टर सञ्चालन गर्न पनि प्रशासनले निर्देशन दिएको छ । अहिले कोभिड अस्पतालमा ६ जना मात्रै संक्रमित रहेकोमा त्यो बढ्ने देखिएकोले तयारी रहन प्रशासनले भनेको छ । आइसोलेसन सेन्टर र होल्डिङ सेन्टरलाई विगतको जस्तै तयारी अवस्थामा राख्न पालिकाहरूलाई निर्देशन दिएको प्रजिअ दाहालले बताउनुभयो । भारतबाट आउनेलाई पीसीआर रिपोर्ट र खोपकार्ड देखाएपछि मात्रै प्रवेश गर्न दिइने भएको छ । सीमामा गरिएको परीक्षणमा भारतीय नागरिकलाई पोजेटिभ देखिएमा उतै फर्काइनेछ । माघ १ गतेदेखि मास्क नलगाउनेलाई एक सय रुपियाँ जरिवाना गर्ने निर्णय पनि प्रशासनले गरेको छ । प्रशासनले हाटबजारमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराउँदै भीड कम गर्न निर्देशन जारी गरेको छ ।