काठमाडौं ।
सरकारले माघ २ गते २४ औं भूकम्प सुरक्षा दिवस मनाउने भएको छ । सरकारले विसं १९९० साल माघ २ गते गएको महाभूकम्पको स्मृतिमा दिवस मनाउन लागेको हो । भूकम्पबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न नागरिकस्तरमा जनचेतना बढाउने मुख्य उद्देश्यसहित यस वर्ष सरकारले ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ भन्ने मूल नाराको साथ ललितपुर महानगरपालिकाको दरबार स्क्वायरमा दिवस मनाउन लागेको हो ।
भूकम्प सुरक्षा दिवसलाई व्यवस्थित र प्रभावकारी बनाउन मूल समारोह समिति, व्यवस्थापन उपसमिति तथा शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशकको संयोजकत्वमा ४१ सदस्यीय प्रचार–प्रसार उपसमितिको व्यवस्था गरिएको छ । सरकारले यही पुस १५ गतेदेखि शुरू गरेको भूकम्प सुरक्षा दिवस माघ १५ गतेसम्म सञ्चालन गर्ने भएको छ । शहरी विकास मन्त्रालयका महानिर्देशक एवं प्रचार–प्रचार उप–समितिका संयोजक पद्मकुमार मैनालीले कोभिड–१९ महामारीबाट सुरक्षित भई स्वास्थ्य मापदण्ड पालना गरेर भूकम्प सुरक्षा दिवस मनाउन लागिएको बताउनुभयो ।
सुरक्षित संरचना निर्माण गरी भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना जगाउने मुख्य उदेश्यसहित कार्यक्रम आयोजना गरिएको बताउँदै उहाँले सुरक्षित भवन निर्माण गर्न राष्ट्रिय भवन संहिता कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । महानिर्देशक मैनालीले सम्भावित भूकम्पबाट हुन सक्ने जनधनको क्षतिलाई न्यूनीकरण गर्न भवन संहिताअनुसार भवनको नक्सा डिजाइन स्वीकृत गरी सोही अनुसार भवन निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय भवन संहिताको कार्यान्वयन अनिवार्य रूपमा कार्यान्वयन गर्नुको अर्को विकल्प नभएको उल्लेख गर्दै उहाँले स्थानीय तहमा रहेको प्राविधिकको समस्यालाई संघ प्रदेश र स्थानीय तहको समन्वयमा समाधान गरेर अगाडि बढनु पर्ने बताउनुभयो । ‘स्थानीय तहमा प्राविधिक जनशक्तिको कमी, धरधनीमा देखिएको जनचेतनाको कमी, कालीगढमा देखिएको दक्षताको कमी, निर्माण कार्यको गुणस्तरमा देखिएको कमीका साथै सरोकारवाला निकायबीच आवश्यक समन्वय हुन नसक्दा भवन संहिता प्रभावकारी कार्यान्वयन हुन सकिरहेको छैन’– महानिर्देशक मैनालीले भन्नुभयो ।
सम्भावित भूम्पबाट हुन सक्ने क्षतिलाई रोक्नका लागि भवन संहिताको पालना र कमजोर घर तथा भवनको प्रवलीकरण अनिवार्य भएकोमा जोड दिँदै मैनालीले भवन संहितालाई प्रभावकारी रूपमा लागू गर्न नीतिगत व्यवस्थादेखि अनुगमनसमेत हुँदै आएको जानकारी दिनुभयो । विशेषगरी नेपालको पश्चिम क्षेत्रमा भविष्यमा आउन सक्ने भूकम्पबाट हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न घरलाई प्रबलीकरणमार्फत सुरक्षित बनाउन सकिने बताउँदै मैनालीले प्रबलीकरणको डिजाइन तथा निर्माण विधि परिमार्जन भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो–‘सबै ठूलो नागरिकको जीवन रक्षा हो, सुरक्षित बस्ती निर्माण गरेर मात्र भूकम्पीय जोखिमबाट जोगाउन सकिन्छ ।’
शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक रामचन्द्र दंगालले सुरक्षित घर तथा भवन निर्माणमा विभागको महत्वपूर्ण भूमिका रहँदै आएको बताउनुभयो । ‘नागरिकमा भूकम्प प्रतिरोधी घर निर्माण गर्न नीति निर्माण गर्नेदेखि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छौं’, उहाँले भन्नुभयो–भूकम्पबाट हुन सक्ने सम्भाव्य जोखिम न्यूनीकरणका लागि विभागले काम गरिरहेको छ ।’











प्रतिक्रिया