काठमाडौं, (नेस) ।
कोरोना संक्रमितको संख्या पछिल्लो समयमा २७ प्रतिशतले बढेको छ । बितेको २४ घण्टामा देशभर ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने त्यसको करिब ७ प्रतिशत मात्र संक्रमणमुक्त भएका छन् । काठमाडौंमा मात्रै कोरोना संक्रमितको संख्या १ हजार २ सय नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता संगीता कौशल मिश्राले कारोना संक्रमितको दर ह्वात्तै बढेर २७ प्रतिशतसम्म पुगेको जानकारी दिनुभयो । नियमित प्रेस ब्रिफिङको क्रममा पीसीआर र एन्टिजेन गरी १३ हजार ३६ वटा नमुना परीक्षण गर्दा ३ हजार ७५ जनाको रिपोर्ट पोजेटिभ आएको हो । जसमध्ये काठमाडौंमा १ हजार १ सय २८, भक्तपुरमा १ सय ३४ र ललितपुरमा २ सय ३६ जना थपिएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ६ सय ९० रहेको छा । त्यस्तै, संस्थागत आइसोलेसनमा ८ सय ८० र होम आइसोलेसनमा १० हजार ८ सय १० जना छन् ।
मन्त्रालयका अनुसार आइसीयूमा ८७ जना, भेन्टिलेटरमा २२ जना संक्रमति उपचारत् छन् । कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । तीनैवटा जिल्ला प्रशासन कार्यालयले स्मार्ट लकडाउन जारी गर्दा पनि भीडभाड कम हुन सकेको छैन । त्यसले गर्दा उपत्यकामा संक्रमितको संख्या बढ्न थालेको अनुमान छ ।
भक्तपुर र ललितपुर जिल्लाले छुट्टै स्वास्थ्य मापदण्ड जारी गरी भीडभाड नगर्न, अनिवार्य रूपमा मास्क प्रयोग गर्न निर्देशन जारी गरेको थियो । तर, उक्त निर्देशन अझै कार्यान्वयन हुन नसक्दा उपत्यकामा भयावह अवस्था आउनसक्ने आशंका गरिएको छ ।











प्रतिक्रिया