५१ हजार नागरिकको निःशुल्क मिर्गौला परीक्षण गदै मन्थली नगरपालिका


रामेछाप ।

रामेछापको मन्थली नगरपालिकाले आफ्ना नागरिकको निःशुल्क मिर्गौला परीक्षण सुरु गरेको छ । राष्ट्रिय मिर्गौला रोग उपचार केन्द्रको मिर्गौला बचाउँ अभियानको प्रविधिक सहयोगमा नगरपालिकाले मिर्गौला परीक्षण कार्यक्रम सुरु गरेको हो ।

नगरपालिकाले “स्वस्थ मिर्गौला–स्वस्थ मन्थली” भन्ने मूल नाराका साथ नगरपालिका भित्रका ६ वर्ष उमेर माथिका र ६० वर्ष उमेर सम्मका ५१ हजार नागरिकहरूको निःशुल्क रूपमा मिर्गौला परीक्षण सुरु गरेको मन्थली नगरपालिका नगरप्रमुख रमेश कुमार बस्नेतले जानकारी दिनु भयो ।

अभियान अन्तर्गत नगरपालिका भित्रका १४ वटा वडाका ३१ वटा स्थानमा परीक्षण भइरहेको छ । युरिन टेस्ट मार्फत मिर्गौला परीक्षणको भइरहेको मिर्गौला बचाउँ अभियानका अभियन्ता तथा मिर्गौला रोग विशेषज्ञ डा.क्रृषी काफ्लेले बताउनु भयो । हाल सम्म १० हजार नागरिकले मिर्गौला परीक्षण गरेको मन्थली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव फुयाँलले बताउनु भयो ।

अभियान सञ्चालनका लागि मन्थली नगरपालिकाले चालु आर्थिक वर्षमा ५ लाख रुपैयाँ विनियोजन गरिएको यस रकम वाट अपुग भएमा अन्य शीर्षकबाट खर्च गरेर भए पनि सबै नागरिकको मिर्गौला परीक्षण गर्ने मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिला राज पौडेलले जानकारी दिए ।