लन्डन, (एजेन्सी) ।
प्रिमियर लिग प्रतिद्वन्द्वी एस्टन भिल्लालाई पराजित गर्दै म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा युनाइटेडले भिल्लालाई १–० गोलअन्तरले पराजित गरेको हो । घरेलु मैदानमा युनाइटेडको जितमा स्कट म्याकटोमिनेले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले आठौं मिनेटमा गोल गरेका थिए ।
ओल्ड ट्राफोर्डमा प्रतिस्पर्धात्मक बनेको सो खेलमा टेरोन मिङ्सको प्रहार क्रसबारमा लागेर फर्कदा भिल्ला बराबरीबाट गर्नबाट चुक्यो । लगत्तै ३१औं मिनेटमा भिल्लाले अर्को मौकालाई सदुपयोग गर्न सकेन । खेलको ३८औं मिनेटमा मेसान ग्रिनवुडको प्रहारलाई मिङ्सले ब्लक गर्दै टोलीको संकट टारे ।
खेलको ५०औं मिनेटमा ड्यानी इंग्सले बराबरी गोल फर्काए पनि भिएआरमा उनको गोलले मान्यता पाएन । त्यसपछि पनि दुवै टोलीबाट केही खतरनाक आक्रमण सिर्जना भए पनि युनाइटेडले पहिलो हाफमा लिएको अग्रता जोगाउँदै जित निकाल्न सफल भयो । यो जितसँगै एफए कपको अन्तिम ३२ को समीकरण पूरा भएको छ । अब अर्को चरणका खेलअन्तर्गत ६ फेब्रुअरीमा हुने म्याचमा युनाइटेडले मिडल्सबर्गसँग खेल्नेछ ।











प्रतिक्रिया