भगवती लेमिनेट्सको फन्दामा एकपछि अर्को डिलर

राजस्व ठगीका थप प्रमाण थपिँदै



काठमाडौं ।

भगवती लेमिनेट्सले प्लाइउड व्यापारबाट करोडौं राजस्व ठगेको प्रमाणसहित शुक्रबार नेपाल समाचारपत्रमा समाचार प्रकाशित भएपछि सोही संस्थाका एक वरिष्ठ कर्मचारीले अर्का डिलरले फर्जी बिलबीजक जारी गरेको प्रमाण उपलब्ध गराएका छन् ।

काठमाडौं सुकेधारास्थित एभरग्रिन प्लाइ सेन्टरका नाममा भगवती लेमिनेट्सले मंसिर १३ गते भ्याट नम्बर ३१८ उल्लेख गरी ना०६ख ५०७५ नं.को ट्रकमा सामान पुर्याएको छ । उक्त बिलको सबैभन्दा तल ‘के’, ‘पी’ र ‘जीटी’ लेखिएको छ । यसको अर्थ ‘के’ भनेको कच्चा बिल, ‘पी’ भनेको पक्का बिल र ‘जीटी’ भनेको ग्रान्ड टोटल हो । बिल नं. ३१८ मा कच्चा बिलमार्फत ७ लाख ६ हजार र पक्का बिलमार्फत १० लाख ९१ हजार गरी १७ लाख ९७ हजार लिएको देखिन्छ ।

‘आन्तरिक राजस्व कार्यालयले भगवती लेमिनेट्सको भ्याट नं. ३१८ हेरे थाहा हुन्छ कुन कारोबार सक्कली हो र कुन कारोबार नक्कली भनेर’ – नेपाल समाचारपत्रलाई प्रमाण उपलब्ध गराउने कर्मचारीले भने ।

भगवती लेमिनेट्सको कर छल्ने यो तरिकाले गर्दा यसका सबै डिलरहरू एकपछि अर्को गर्दै फस्दै गएका छन् । डिलरहरूले पनि आफ्नो फाइदा, प्रोत्साहन र बोनसका लागि कर छल्न सहयोग गरेको देखिन्छ । कम्पनीका क्षेत्रीय बिक्री व्यवस्थापक, लेखापाल र परिवारका सदस्यहरूको तीनदेखि पाँच वर्षको बैंक स्टेटमेन्ट हेरे सबै जना ‘एन्टी मनी लन्डरिङ केस’ मा पक्राउ पर्ने देखिइसकेको छ ।

काठमाडौं सुकेधारास्थित एभरग्रिन प्लाइ सेन्टरका सञ्चालक सुमन सुवेदीलाई सम्पर्क गर्दा उहाँले भगवती लेमिनेट्सले भ्याटको लफडा भएकाले सामान नपठाएको बताउनुभयो । उहाँले भन्नुभयो– कर छली आदिका विषयमा मलाई केही जानकारी छैन र मैले अहिलेसम्म भगवती लेमिनेट्सबाट कुनै लाभ लिएको छैन ।’ उहाँले भगवतीबाहेक अन्य कम्पनीबाट आफूले कारोबार गरी सामान लिइरहेको बताउनुभयो । भगवती लेमिनेट्सकै कारण तपाईंहरू पनि फन्दामा पर्नुभयो नि भनी जिज्ञासा राख्दा कम्पनीहरूले के गर्छन्, कसरी कर छली गर्छन् त्यो त्यसबारे आफू अनभिज्ञ रहेको बताउनुभयो ।

यसै विषयलाई लिएर कम्पनीका कन्ट्री म्यानेजर विकास सिंहलाई सम्पर्क गर्दा उहाँले आफूहरूले धेरैलाई रोजगारी दिएको र गलत गरेको भए कर कार्यालयले अहिलेसम्म किन कारबाही गरेन त भनी उल्टै चुनौती दिनुभयो । नेपाल समाचारपत्रमा समाचार प्रकाशित भएपछि प्रायः सबै क्षेत्रीय बिक्री व्यवस्थापकको मोबाइल फोन बन्द भएको पाइएको छ ।

कम्पनीले वास्तविक कारोबारका लागि ‘कच्चा बिल’ प्रयोग गर्ने र भ्याटका लागि ‘पक्का बिल’ प्रयोग गर्ने गरिएको उद्योगमै कार्यरत पुराना लेखापालले बताएका थिए । उनले भनेका थिए– ‘हेर्नुस्, मैले पनि जागिर दिने साहुजीको हितमा काम गर्नैपर्छ, तर अन्डर इनभ्वाइसिङको सिलिङ देखेर सरकारलाई यो परिमाणमा ठग्नुहुन्न भनेर मैले सही कुरा बाहिर ल्याएको हुँ ।’

नेपाल समाचारपत्रलाई प्रमाणसहित प्राप्त जानकारीअनुसार उद्योगले सबैजसो कारोबार अन्डर इनभ्वाइसमै गर्ने गर्दछ । खास गरी यसो गर्नुको अर्थ मूल्य अभिवृद्धि कर र आयकरबाट बच्नु नै हो । ‘पक्का बिल’ भनिने कम मूल्य राखेर काटिएको बिल सरकारलाई देखाउनका लागि र भित्रभित्रै कारोबार हुने कच्चा बिल वास्तविक कारोबारका लागि हो । नेपालमा नियतवश कर छली गर्ने व्यक्तिविरुद्ध कडा कानुन छ । नक्कली बिल वा अन्डर इनभ्वाइस गरी कर छले ठगिएको रकममा शतप्रतिशत जरिवाना र ६ महिनाको जेल सजाय हुने कानुनी व्यवस्था छ ।

यो पनि पढ्नुहोस् :
भगवती लेमिनेट्सको फन्दामा डिलरहरू
भगवती लेमिनेट्सले प्लाइउड व्यापारबाट करोडौं राजस्व ठग्दै

प्रतिक्रिया दिनुहोस्