नारायणहिटी संग्रहालयका कार्यकारी निर्देशककाे राजीनामा स्वीकृत


विमल विष्ट, काठमाडौं । 

नारायणहिटी दरबार सङ्ग्राहलय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले दिनु भएको राजीनामा स्वीकृत भएको छ ।

दाहालले आज मङ्गलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राजीनामा बुझाउनु भएको र उहाँको राजीनामा आजै स्वीकृत भएको मन्त्रालयका सचिव महेश्वर न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “कार्यकारी निर्देशक दाहालले राजीनामा दिनु भएको थियो, उहाँको राजीनामा स्वीकृत भएको छ, ” ।

कार्यकारी निर्देशक दाहाललाई नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेस्टुरेन्ट लगायतका व्यवसाय गर्न दिइएको अनुमतिमा केही कमी कमजोरी गरेको आरोप लागेको छ । नारायणहिटी दरबार सङ्ग्राहलयमा आफूले सही मनसायले काम गरेको र विभिन्न सञ्चार माध्यममा गलत तथा दुष्प्रचार गरिएको र नेपाल सरकारले नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेस्टुरेन्ट लगायतका व्यवसाय गर्न दिइएको अनुमतिमा छानबिन समिति समेत गठन गरेकाले उक्त समितिलाई सहयोग पुगोस् भन्ने उद्देश्यले नैतिकताका आधारमा उक्त पदमा रहेर मैले काम गर्न उचित नभएकाले राजीनामा पेस गरेको भनी कार्यकारी निर्देशक दाहालको राजीनामा पत्रमा उल्लेख गरिएको छ ।

दरबार सङ्ग्रहालयभित्र रेस्टुरेन्ट लगायतका व्यवसाय गर्न दिइएको अनुमतिमा छानबिन गर्न गठित समितिको प्रतिवेदनमा क्यान्टिन-क्याफ्टेरिया सञ्चालन गर्नका लागि प्रयोग गर्न पाउने क्षेत्रफल र स्थानको स्पष्ट सीमाङ्कन नभएको, बढी क्षेत्र ओगटी थप निर्माण कार्य गर्न प्रोत्साहन भएको उल्लेख गरिएको छ । यसै गरी सम्झौता विपरीत बि म्यानेजमेन्ट प्राविले नयाँ संरचना निर्माण गर्दा विकास समितिका कार्यकारी निर्देशकले कुनै कानुनी कारबाही नगरेको पनि प्रतिवेदनमा भनिएको छ । आधिकारिक निकायबाट नक्सा पास नगरी एवं निर्माण स्वीकृति नलिई र मन्त्रालय एवं विकास समितिको पूर्व स्वीकृति नलिई अनुमानित १४ रोपनी क्षेत्रफल रहेको जग्गामा थप नयाँ संरचनाहरू निर्माण भएको देखिएको  ।

दोस्रो पक्षको रूपमा रहेको वि.म्यानेजमेन्ट प्राविले अनुमति पाएको भन्दा बढी क्षेत्रफलको जग्गामा स्वीकृति नलिई नयाँ संरचनाहरू निर्माण गरेको देखिएकोले निर्माण कार्य तत्काल रोकी सम्बन्धित निकायबाट आवश्यक कारबाही हुनुपर्ने देखिएको उल्लेख गरिएको छ । बतास समूहले नारायणहिटी सङ्ग्राहलयमा मनपरी तरीकाबाट संरचना निर्माण गरेको आरोप लागेको छ ।