पोखरा उपत्यकामा जलपक्षी गणना सुरु


कास्की । 

पोखरा उपत्यकामा जलपंक्षी गणना सुरु भएको छ । सन् १९८७ देखि वर्षेनि नियमित रूपमा गरिँदै आएको जलपंछी गणना कार्यक्रम आजदेखि पोखरा उपत्यकामा रहेका तालहरूबाट सुरु गरिएको हो । । सन् २००४बाट पोखरा उपत्यकामा नियमित आधिकारिक गणना र अभिलेख राखिएको छ । यो गणना भोलिसम्म जारी रहनेछ ।

प्रत्येक वर्ष अङ्ग्रेजी महिना जनवरीको पहिलो हप्ता देखि तेस्रो हप्तामा गरिने उक्त गणना कार्यक्रममा स्वयंसेवी पंछी अवलोकनकर्ता, स्थानीय बासिन्दा, सरोकारवाला निकाय, पत्रकार र संरक्षण सङ्घ संस्थाको सहभागिता हुने गर्दछ । सिमसारमा आश्रित पानी चराहरूको अवस्था पत्ता लगाउन, सङ्ख्याको अद्यावधि गर्न, संरक्षणमा स्थानीय समुदायलाई सहभागी बनाउँदै जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रत्येक वर्ष नेपालभर जल पक्षीहरूको अनुगमन गणना गर्ने गरिन्छ ।  यस वर्ष पनि पुस १७ देखि माघ ५ ९जनवरी १ देखि १९० सम्म विश्वभरका साथै नेपालका ६० भन्दा बढी ताल तलैया र नदीका भागहरूमा जल पक्षीहरूको गणना गरिने पोखरा पक्षी समाजका अध्यक्ष तथा गणनाका क्षेत्रीय प्रतिनिधि मनशान्त घिमिरेले जानकारी दिनु भयो ।

 दक्षिण एसियामै पहिलो पटक वन्यजन्तु पर्यटन भित्र्याउने पायोनियर कम्पनी टाइगर टप्सको चेन होटेल टाइगर माउन्टेन पोखरा लजका प्रबन्धक मार्क कटनको अगुवाइमा सन् २००४ देखि पोखरा उपत्यकामा सुरु गरिएको पानी चरा गणना पोखरामा रहेका केही पथ प्रर्दशकहरु, नेपाल पक्षी संरक्षण संघ पोखरा र पछिल्लो समयमा पोखरा पक्षी समाजको संलग्नतामा गर्दै आएको छ ।  पहिलो दिन विजयपुर खोला, कमलपोखरी, गुँदे, खास्टा, न्युरेनी, दिपाङ, मैदी ताल, बेगनास र रुपा तालमा दोस्रो दिन फेवातालमा जलपंछी गणना कार्यक्रम गरिने टाइगर माउन्टेन पोखरा लजका नेचुरलिस्ट झलक चौधरीले जानकारी दिनु भयो ।

यस बर्ष टाइगर माउन्टेन पोखरा लज, पोखरा पन्छी समाज, हिमालयन डटर्स बर्ड क्लब, नेपाल पक्षी संरक्षणसंघपोखरा शाखा, पर्यटन गाइड, संरक्षणकर्मी, पत्रकार, पन्छी अवलोकनकर्ता, स्थानीय बासिन्दा, सरोकारवाला निकायहरुको सहभागिता रहने संघका अध्यक्ष घिमिरेले बताउनु भयो ।समाजका अध्यक्ष घिमिरेका अनुसार हाल सम्म गरिएको गणनामा पोखरा उपत्यकामा ४६ प्रजातिका पानी चराको अभिलेख गरिए पनि वर्षै भरि गरिने अध्ययनमा १०२ प्रजातिका पानी चरा देखिएका छन्।