त्रिभुवन विमानस्थलमा ‘भिजिटर पास’ बन्द, स्वागत र विदाइमा नआउन अनुरोध


न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो समय कोरोना संक्रमण बढ्न थालेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले सर्वसाधारणलाई विमानस्थलमा स्वागत र बिदाइमा नआउन अनुरोध गरेको छ । कोरोना भाइरसको जोखिम समेतलाई मध्यनजर गरी विमानस्थल कार्यालयबाट अति नै जरुरी अवस्थामा बाहेक भिजिटर पास उपलब्ध नगराइने जनाएको छ ।

यस्तै, विमानस्थल कार्यालयले अति जरुरीबाहेक स्वागत तथा बिदाइ गर्नका लागि मात्र विमानस्थल नजान अनुराेध गरेको छ । ‘यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रु आवागमनको चाप र विमानस्थलमा स्थान सीमितताको कारण अति जरुरीबाहेक स्वागत तथा बिदाइ गर्नका लागि मात्र विमानस्थल नआइदिन यस कार्यालयबाट पटक-पटक विभिन्न सञ्चारमाध्यममार्फत सार्वजनिक अपिल गर्दा समेत विमानस्थल आउने आफन्तजनको संख्यामा कमी भएको छैन ।

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘काेराेनाका विभिन्न भेरियन्ट उत्परिवर्तन भइरहेको र हालै नयाँ भेरिएन्ट ओमिक्रोनसहित छिमेकी मुलुकहरूमा काेराेना तीव्र रूपमा फैलिरहेको सन्दर्भ तथा यसको प्रभाव नेपालमा पनि देखिइरहेको अवस्थालाई दृष्टिगत गरी कोभिडको नयाँ भेरियन्टको संक्रमणसमेतबाट आफू बच्न तथा अरूलाई बचाउन विमानस्थलमा अनावश्यक भिडभाड नगरिदिनुहुन विशेष अनुरोध गरिन्छ ।