कर्णाली प्रदेशसभाको नवौं अधिवेशन आह्वान


कर्णाली ।

कर्णाली प्रदेशसभाको नवौं अधिवेशन आह्वान गरिएको छ । प्रदेशसभा सचिवालयले भोलि पुस २८ गतेका लागि अधिवेशन आह्वान गरेको हो ।

नेपालको संविधानको धारा १८३ को उपधारा (१)बमोजिम कर्णाली प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभाको नवौं अधिवेशन आह्वान गर्ने निर्णय भएअनुसार पुस २८ गतेका लागि दिउसो ३ बजे प्रदेशसभाको बैठक बोलाइएको प्रदेशसभा सचिवालयका कानुन अधिकृत मदन खड्काले जानकारी दिए ।

उनका अनुसार कर्णाली प्रदेशसभा नियमावली २०७४ को नियम ३ को उपनियम ३ बमोजिम प्रदेशसभा सदस्यलाई सूचना गरिएको छ । यसअघि मुख्यमन्त्री जीवनबहादुर शाहीको विश्वासको मत लिने प्रयोजनका लागि गत मंसिर १४ बोलाइएको बैठक प्रतिपक्षी दल नेकपा एमाले उपस्थिति नभएका कारण यसको भोलिपल्ट मंसिर १४ गते प्रदेशसभा बैठक बसालिएको थियो ।