मेगा बैंकको वित्तीय साझेदारीमा धरानमा फोहोरबाट ग्यास उत्पादन शुरू



काठमाडौं (नेस) ।

मेगा बैंक लिमिटेडको वित्तीय साझेदारीमा नेपालमै पहिलोपटक धरानमा फोहोर प्रशोधन केन्द्रबाट ग्यास तथा जैविक मल उत्पादन शुरू गरिएको छ । भेन्चर वेस्ट टु इनर्जी प्रालिद्वारा धरान उपमहानगरपालिका तथा सरकारको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहकार्यमा धरान– ६ पानबारीस्थित फोहोर प्रशोधन केन्द्रबाट ग्यास तथा मल उत्पादन शुरू गरिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको निजी सार्वजनिक साझेदारी अवधारणा अनुरूप निजी क्षेत्रबाट स्थापित यस आयोजनाको वित्तीय साझेदार मेगा बैंक रहेको छ ।

उद्घाटन समारोहमा मेगा बैंकका तर्फबाट अध्यक्ष भोजबहादुर शाह र सीईओ अनुपमा खुञ्जेली अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । फोहोरलाई ऊर्जामा परिणत गर्ने राष्ट्रिय महत्वको यस आयोजनामा वित्तीय साझेदारी गर्न पाउँदा अत्यन्तै गौरवान्वित भएको मेगा बैंकका अध्यक्ष शाहले बताउनुभयो । यसैगरी, सीईओ खुञ्जेलीले फोहोरबाट ग्यास तथा मल उत्पादन हुँदा फोहोर व्यवस्थापन मात्र नभई थोरै मात्रामा भए पनि देशलाई ऊर्जाको आयात प्रतिस्थापन गर्न र व्यापार घाटा कम गर्न समेत मद्दत मिल्ने बताउनुभयो ।

दीर्घकालीन महत्वका यस्ता आयोजनामा साझेदारी गर्न मेगा बैंक सधैं तत्पर रहेको उहाँले बताउनुभयो । दैनिक ३० टन क्षमताको फोहोर प्रशोधन केन्द्रबाट दैनिक रूपमा करिब एक हजार किलोग्राम जैविक मल ग्यास, करिब ५ सय किलोग्राम जैविक मल तथा करिब १० हजार लिटर तरल मल उत्पादन हुनेछ । साथै, यो केन्द्र पूर्ण क्षमतामा सञ्चालनमा आए करिब ८० जनाले रोजगारी पाउने बताइएको छ । फोहोर प्रशोधन केन्द्रका संस्थापकद्वय विपुलराज पाण्डे र जेनेश श्रेष्ठका अनुसार, यहाँबाट उत्पादित जैविक ग्यासलाई शुद्धीकरण गरी सीएनजी ग्यास उत्पादन हुनेछ । जसबाट धरानमा रहेका तीन पांग्रे सवारी साधन (टेम्पो)मा प्रयोग गरिनेछ ।

धरानमा रहेका करिब ३ सय वटा टेम्पोहरूमा सिलिन्डरसहितको एक किटको जडान गरी सञ्चालन गर्न सकिने छ । यहाँबाट उत्पादित सीएनजी ग्यासको प्रयोगले दैनिक करिब १हजार ५ सयदेखि २ हजार लिटर पेट्रोल आयात प्रतिस्थापन हुनेछ । जसबाट हालको बजार मूल्यमा करिब १० करोड रुपियाँको आयात कम हुने विश्वास लिइएको छ । विश्वका प्रायजसो मुलुकमा ठूलो मात्रामा प्रयोग भइरहेको सीएनजी ग्यास पेट्रोलभन्दा सस्तो हुने पेट्रोलभन्दा बढी माइलेज दिनुका साथै वातावरणमैत्रीसमेत रहेको छ । मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १० वटा तीन पांग्रे टेम्पोलाई सीएनजी ग्यासमा लाग्ने कन्भर्सन किट निःशुल्क सहयोग गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्