नारायणहिटीमा रेस्टुराँ सम्झौता : कार्यकारी निर्देशकको नियतमाथि शंका



काठमाडौं (नेस) ।

नारायणहिटी दरबार संग्रहालयभित्र रेस्टुरेन्ट सञ्चालन गर्न सम्झौता गर्दा मन्त्रालयसँग समन्वय नगरेको आशंकामा पर्यटन तथा संस्कृति मन्त्रालयले छानबिन गर्न थालेपछि नारायणहिटी दरबार संग्रहालय गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले ढोका थुनेर कागजात तयारी गरी समितिलाई बुझाएका छन् ।

रेस्टुराँलाई जग्गा दिने विषयमा आफूअनुकूल निर्णय गरेका दाहालले कार्यलय समयअगावै कार्यालय आएर सुटुक्क कागजात तयार गरेको बताइएको छ । समितिका स्रोतका अनुसार सम्झौता गर्दादेखि हालसम्मका कागजात एक्लैले तयार गरेका हुन् ।

अन्य कर्मचारीले जानकारी नपाऊन् भनेर ढोका थुनेर कागजात तयार गरेपछि अधिकांश कर्मचारीले उहाँको नियतमाथि शंका गरेका छन् । एक कर्मचारीले आशंका व्यक्त गर्दै नेपाल समाचारपत्रसँग भने– ‘बतास समूहसँग भएको सम्झौता कानुनबमोजिम थियो भने किन ढोका थुनेर एक्लै कागजपत्र तयार गर्नुपथ्र्यो ?’

करिब एक वर्षअघि नियुक्त भएका कार्यकारी निर्देशक दाहालले संग्रहालयको सौन्दर्य बिगार्न आर्थिक प्रलोभनमा चाहेजति जग्गा उपलब्ध गराएको आरोप लागेको छ । छानबिन समितिले प्रतिवेदन बुझाएपछि सम्झौता गर्दा कार्यकारी निर्देशकको भूमिका कस्तो थियो भन्ने खुल्नेछ । मन्त्रालयले समिति बनाएको भोलिपल्टै छानबिन गर्न टोली संग्रहालय परिसर पुगेको थियो । मनोमानि सम्झौता गरेको भन्दै मन्त्रीकै निर्देशनमा निर्माणाधिन रेस्टुराँ भत्काइएको थियो ।

प्रतिक्रिया दिनुहोस्