एमाले काभ्रेमा मतदान शुरु 

विद्युतीय भोटिङ मेशिन प्रयोग



काभ्रे ।

नेकपा एमाले काभ्रेले जिल्लामै पहिलो पटक विद्युतीय मेशिन मार्फत मतदान शुरु गरेको छ ।  बिहान ८ बजेबाट शुरु भएको मतदान दिनभर चल्ने एमाले काभ्रेले जानकारी दिएको छ । एमाले काभ्रेका अध्यक्ष अशोक ब्याञ्जुले एमालेले गरेको देशभरको अधिवेशनमा काभ्रे जिल्लामा मात्रै पहिलो पटक विद्युतीय भोटिङ मेशिन प्रयोग गरेको बताउनु भयो ।

१ हजार ४ सय ५ जना मतदाता रहेको काभ्रे एमालेले अध्यक्ष र उप सचिव सहित २६ पदमा भने निर्विरोध गरिसकेको छ । अध्यक्षमा अशोक ब्याञ्जु र उप सचिवमा नेकपा माओवादी केन्द्रबाट समायोजन भएर आएकी रिता ढकाल उपसचिव भएकी छन् । उपाध्यक्ष, सचिव, उपसचिव सहित बाँकी ७९ पदका लागि २ सय २३ जना उम्मेदवारले प्रतिस्पर्धा गरिरहेका छन् ।

पौष २३ गते पार्टी अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नू भएको अधिवेशनको उद्घाटन सत्रमा पनि जिल्लाभरबाट हजारौँ जनसमुदायको सहभागिता रहेको थियो । पार्टीहरूको जिल्ला अधिवेशनमा हाई टेक शैलीको प्रचार तथा व्यवस्थापन र जनसमुदायको व्यापक सहभागिता पहिलो पटक भएको एमालेले बताएको छ ।

मतदानका लागि एकै पटक ३० जनाले मेशिन प्रयोग गर्ने व्यवस्था मिलाइएको छ । एक जना व्यक्तिलाई सरदर १० देखि १५ मिनेट मतदानका लागि लाग्ने राम लक्ष्मण मेशिनका सञ्चालकले जानकारी दिएका छन् । मतदान सकिए लगत्तै मतगणना हुने निर्वाचन कमिटीका संयोजक ईश्वर बन्जाराले जानकारी दिएका छन् । मतगणनाका लागि १ घण्टाको समय मात्रै लाग्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्