जिल्ला प्रशासनमा स्वास्थ्य सहायता कक्ष



गुल्मी ।

जिल्ला प्रशासन कार्यालय गुल्मीमा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको छ । कोभिड–१९ संक्रमण रोकथामका लागि आइतबार प्रशासन कार्यालयको हाताभित्र स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको हो । सहायता कक्षको जिल्ला प्रशासन कार्यालय गुल्मीको पहिलो सेवाग्रही सत्यवति गाउँपालिकाकी ६४ वर्षकी नरमती परियारको स्वास्थ्य जाँच गरेर शुभारम्भ गरिएको थियो । सहायता कक्ष स्थापना गर्दै प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जाडो मौसमसँगै ओमिक्रोन भाइरसको संक्रमण बढ्न थालेकाले सेवाग्राहीको स्वास्थ्य जाँचका लागि सहायता कक्ष स्थापना गरिएको बताउनुभयो ।

सेवाग्रहीको स्वास्थ्य सुरक्षाका लागि परामर्ससँगै मास्क, स्यानिटाइजर वितरण गरिने उहाँको भनाइ छ । सहायता कक्षबाट प्रेसर, मधुमेह, ज्वरोलगायतका सामान्य स्वास्थ्य समस्या पहिचान गरेर विशेषज्ञ सेवाका लागि पठाइने व्यवस्था गरिएको पौडेलले बताउनुभयो । सामान्य खालका समस्या भए सहायता कक्षबाटै समाधान गर्ने उहाँको कथन छ ।

प्रशासन कार्यालयमा नागरिता, राहदानी, राष्ट्रिय परिचयपत्र, मतदाता नामावलीलगायतका कामका लागि धेरै सेवाग्राही आउने भएकाले चेकजाँचका लागि सहायता कक्ष राखिएको हो । सेवाग्राहीको चाप हुने स्थानमा रोग लुकाइने, नागरिकको स्वास्थ्य जोखिम हुने भएकाले ज्येष्ठ नागरिकलाई विशेष प्रथामिकता दिएर चेक जाँच गरिने पौडेल बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्