इलामका ६ पत्रकार एमालेको उम्मेदवार



इलाम ।

नेकपा एमाले इलामको दशौं जिल्ला अधिवेशन सदरमुकाममा पुस २३ गतेबाट जारी छ । अधिवेशनले केही जिल्ला सदस्यबाहेक अधिकांश पदमा निर्वाचन भएको छ । एमाले जिल्ला कमिटिको अधिवेशनको माहोल तातिरहँदा पार्टीको विभिन्न पदमा इलामका पत्रकारहरुले पनि उम्मेदारी दिएका छन् ।

एमाले निकटको प्रेस चौतारीमा आबद्ध रहेका तथा नेपाल पत्रकार महासंघ इलाम शाखाका क्रियाशील सदस्यता प्राप्त गरेका पत्रकारहरु पार्टीको निर्वाचनमा होमिएका हुन् । नेपाल पत्रकार महासंघ इलाम शाखाबाट क्रियाशील सदस्यता लिनुभएका प्रेस चौतारी निकटका देवी क्षत्री दुलाल, धिरेन चेम्जोङ, उमेश गुरुङ, प्रकाश अधिकारी, बुद्धि खनाल र विमल दाहाल यतिखेर एमाले जिल्ला अधिवेशनमा विभिन्न पदमा उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रेका हुन् । दुलाल, चेम्जोङ, गुरुङ र अधिकारीलाई इलामको पत्रकारिता क्षेत्रको धरोहरको रूपमा चिनिन्छ ।

पार्टीको निर्वाचनमा होमिएका पत्रकारहरु अहिले भने क्रियाशील पत्रकारितामा भने रहेका छैनन् । इलामको पत्रकारिताको विकासलाई माथिल्लो उचाइमा पुर्याउने पत्रकार यतिखेर पार्टीको विभिन्न पदमा उम्मेदारी दिएर चुनावी मैदानमा होमिएका हुन् ।

चुनावी मैदानमा उत्रनुभएका गुरुङ र चेम्जोङ पत्रकार महासंघ इलाम शाखा सभापतिसमेत भइसक्नुभएको थियो । दुलाल पार्टीको जिल्ला अध्यक्ष पदमा उम्मेदवारी दिएर चुनावी मैदानमा हुनुन्हुन्छ भने गुरुङ र अधिकारी एउटै पद सचिवमा उम्मेदवारी दिएर प्रतिस्पर्धामा रहनुभएको छ । यसै गरी, चेम्जोङ, खनाल र दाहाल सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । चेम्जोङ निर्विरोध जिल्ला सदस्यमा चयन भइसक्नुभएको छ । लामो समयसम्म पत्रकारिता गरेका उनीहरू पत्रकारिता क्षेत्रलाई बिट मार्दै राजनीतिमा होमिएका हुन् ।

सोही अधिबेशनमा महासंघकै सदस्य प्राप्त केही पत्रकार पनि प्रतिनिधिका रूपमा अधिवेशनमा सहभागी बन्नका छन् । केही समयअघि कांग्रेस इलामकै जिल्ला अधिवेशनमा पनि पत्रकार महासंघको सदस्यता लिएका प्रेस युनियनका केही पत्रकार अधिवेशनमा प्रतिनिधिका रूपमा भाग लिएका थिए । पछिल्लो समय इलाममा मात्र होइन देशका सबै जिल्लामा विभिन्न पार्टीमा आबद्ध रहेका पत्रकार पत्रकारितालाई बिट मार्दै राजनीतिमा होमिने क्रम बढेर गएको छ ।

प्रतिक्रिया दिनुहोस्