महिलालाई बुर्का लगाउन दबाब



काबुल, (एजेन्सी) ।

तालिवानले महिलालाई सम्पूर्ण शरीर ढाक्ने वस्त्र लगाउन दबाब दिएको छ । तालिवानको धार्मिक मामिला हेर्ने प्रहरीले राजधानी काबुलमा महिलाले बुर्का लगाएको पोस्टर टाँसेर उनीहरुलाई यस्तो दबाब दिइएको हो ।

बुर्कासहितका पोस्टर क्याफे, पसललगायतका महिलाको जमघट हुने स्थानमा टाँसिएको छ । १५ अगस्टमा सत्तामा पुगेपछि तालिवानले महिलाका अधिकार कटौती गर्दै आएको छ । ‘सारिया कानुनअनुसार महिलाले हिजाव लगाउनै पर्छ ।’ –पोस्टरमा भनिएको छ । सत्तापलटपछि तालिवानले पुनःस्थापना गरेको गुण तथा दुर्गुणसम्बन्धी मन्त्रालयका प्रवक्ता सइद अकिफ मुहजिरले महिलालाई सम्पूर्ण शरीर ढाक्ने वस्त्र लगाउन प्रोत्साहन गर्न सार्वजनिक स्थलमा पोस्टर टाँसिएको बताएका छन् ।

शरीर ढाक्ने गरी वस्त्र नलगाउनेलाई कारबाही भने नगरिने उनको भनाइ छ । ‘नियम पालना नगर्नेमाथि कारबाही हुने छैन ।’ –मुजहिरले भने । काबुलमा प्रायः महिलाले टाउको ढाक्ने वस्त्र लगाउँछन्, यद्यपि केहीले भने पश्चिमा शैलीका अत्याधुनिक पोशाकमा सजिएका भेटिन्छन् । राजधानीबाहिरका शहरमा भने महिलाको टाउकोमा बुर्का देखिनु सामान्यजस्तै बनेको छ ।

पोस्टरमार्फत महिलालाई तालिवानले बुर्का लगाउन दबाब दिएको र यसले अनावश्यक त्रास बढाएको केहीले गुनासो गरेका छन् । ‘उनीहरुले मानिसहरुमा त्रास बढाउन खोजेका छन् ।’ –विश्वविद्यालयकी एक विद्यार्थी तथा महिला अधिकार अभियन्ता भन्छिन् । शुरुमा पोस्टर देख्दा आफू डराएको बताउँदै उनले भनिन्– ‘उनीहरुले मलाई बुर्का लगाउन भनेका छन् । उनीहरुले भनेको कहिल्यै मान्दिनँ ।’

प्रतिक्रिया दिनुहोस्