मन्त्रीहरू नै कोरोनाको जोखिममा



काठमाडौं, (नेस) ।

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूलाई कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै केन्द्रीय सरकारका मन्त्री पनि जोखिममा परेका छन् । आठौं महाधिवेशनमा सहभागी धेरै नेता–कार्यकर्तालाई कोभिड पुष्टि भएसँगै जोखिम बढेको हो ।

माओवादीबाट केन्द्रीय सरकारमा पम्फा भुसाल, जनार्दन शर्मा, देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वरजंग गहतराज माओवादीबाट मन्त्रिपरिषद्मा छन् । जस कारण सरकारका मन्त्री पनि कोरोना संक्रमणको जोखिममा परेका हुन् ।

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, मातृका यादव, हरिबोल गजुरेल, रामप्रसाद सापकोटा, सुवोध शेर्पाली, अनेरास्ववियु (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह, वाईसीएल अध्यक्ष सुमन देवकोटा, महेन्द्रबहादुर शाहीलगायत नेताहरूमा कोरोना संक्रमण पुष्टि भएको छ । माओवादी कार्यालयका मुख्यसचिव श्रीराम ढकाल र शिव खकुरेलबाहेक सचिव डोरप्रसाद उपाध्याय, एविन्द्र पराजुलीसहितलाई संक्रमण भएको छ । साथै, महाधिवेशनमा सहभागी पत्रकारहरूमा पनि कोरोना संक्रमण भएको छ ।

प्रचण्डसँग भेटेका प्रधानमन्त्री शेरबहादुर देउवा आइसोलेसनमा बसिसक्नुभएको छ । पछिल्लो महिनायता राजनीतिक दलका महाधिवेशन र गतिविधिले कोरोना संक्रमण जोखिम बढाएको भन्दै चिन्ता जनाउन थालिएको छ । देशभरबाट आएका नेता तथा कार्यकर्ता जनस्वास्थ्यको मापदण्ड पालना नगरी सहभागी गराएर राजनीतिक गतिविधि गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्