संक्रमण दर तीव्र, मृत्यु दर न्यून



पेरिस, (एजेन्सी) ।

पछिल्लो समयमा विश्वभर कोभिड संक्रमण तीव्र फैलिएको छ । युरोपबाट शुरु भएको कोभिडको पछिल्लो लहर पश्चिमका विभिन्न देश हुँदै दक्षिण एसियासम्म फैलिएको हो ।
विश्वमा औसतमा एकैदिन २० लाख जनामा कोभिड संक्रमण देखिएको छ । १ जनवरीदेखि ७ जनवरीको अवधिमा पहिचान भएका नयाँ संक्रमितहरुको तथ्यांक विश्लेषण गर्दा औसतमा दैनिक संक्रमितको संख्या २१ लाख ६ हजार १ सय १८ पुगेको छ ।

दक्षिण अफ्रिकामा नोभेम्बरको अन्तिम साता कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै विश्वव्यापीरूपमा संक्रमित दर २ सय ७० प्रतिशत छ । संक्रमित दर बढे पनि मृत्यु दर भने सन् २०२० को अक्टोबर यताकै सबैभन्दा थोरै देखिएको छ । अहिले कोभिडबाट औसतमा दैनिक ६ हजार २ सय ३७ जना संक्रमितको मृत्यु भएको छ ।

अन्य भेरियन्टको तुलनामा ओमिक्रोन कम घातक भएको विज्ञहरुले बताए पनि यस संक्रमणका कारण विश्वको स्वास्थ्य प्रणाली नै तहसनहस हुने विज्ञहरुले चेतावनी दिँदै आएका छन् । संक्रमित बढेपछि विभिन्न देशले लकडाउनलगायतका प्रतिबन्धात्मक व्यवस्था घोषणा गरेका छन् । यस्तो प्रतिबन्ध लगाउनेमा युरोपेली देशहरु अग्रपंक्तिमा छन् । भाइरस नियन्त्रण गर्न भन्दै विभिन्न देशहरुले खोप कार्यक्रमलाई तीव्र पारेका छन् ।

युरोपबाहेक अमेरिका र क्यानडा कोभिडको हटस्पट बनेका छन् । विश्वका कूल संक्रमितमध्ये ४९ प्रतिशत अमेरिका र ३३ प्रतिशत क्यानडाका छन् । युरोपमा कोभिड संक्रमण दर अहिलेसम्मकै उच्च देखिएको छ । त्यस्तै, पछिल्लो एक सातामा प्रशान्त महासागर क्षेत्रमा २ सय २४ प्रतिशत, ल्याटिन अमेरिकी देशमा १ सय ४८ प्रतिशत, मध्यपूर्वमा १ सय १६ प्रतिशत र एसियामा १ सय ४५ प्रतिशतले कोभिड बढेको छ । सन् २०२० मा महामारी शुरु भएको अफ्रिकामा पछिल्लो समयमा संक्रमण दर स्थिर छ । दक्षिण एसियाली देशमा भारतमा संक्रमण दर बढ्दो देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्