एमाले जिल्ला अधिवेशन : ३१ जिल्लामा नेतृत्व चयन

अधिकांशमा सर्वसम्मत



काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी एमालेको जारी जिल्ला अधिवेशनबाट ३१ जिल्लाको नेतृत्व चयन सम्पन्न भएको छ । देशका ६३ जिल्लामा शुक्रबारबाट शुरू भएको अधिवेशनबाट आइतबारसम्ममा ३१ जिल्लाको नेतृत्व चयन सम्पन्न भएको हो ।

दुई जिल्लामा निर्वाचनबाट र २९ जिल्लामा भने सर्वसम्मतिमा नेतृत्व चयन भएको एमालेले बताएको छ । अध्यक्षमा सर्वसम्मत भएको ठाउँमा पनि अधिकांश अन्य पदमा भने मतदान भएको छ । कपिलवस्तु र पश्चिम नवलपरासीमा चुनावी प्रतिस्पर्धाबाट अध्यक्ष निर्वाचित भएका छन् । एमालेले प्यानल बनाएर चुनाव लड्न निषेध गरे पनि कतिपय जिल्लामा प्यानल बनाएरै प्रतिस्पर्धा शुरू भएको छ । बाँकी अन्य जिल्लामा भने अधिवेशन अगाडि बढ्न सकेको छैन ।

एमालेका अनुसार प्रदेश १ अन्तर्गत झापा जिल्लाको अध्यक्षमा दीपक कार्की, मोरङ जिल्लाको अध्यक्षमा ऋषिकेश पोखरेल, खोटाङ जिल्लाको अध्यक्षमा रामप्रसाद दंगाल, धनकुटा जिल्लाको अध्यक्षमा इन्द्रमणि पराजुली, तेह्रथुम जिल्लाको अध्यक्षमा तेजमान कन्दङवा, पाँचथर जिल्लाको अध्यक्षमा राजकुमार भण्डारी, भोजपुर जिल्लाको अध्यक्षमा शरण राई निर्वाचित भएका छन् । त्यसैगरी प्रदेश २ अन्तर्गत सप्तरी जिल्लाको अध्यक्षमा ताराकान्त चौधरी निर्वाचित भएका छन् ।

वागमती प्रदेशअन्तर्गत धादिङ जिल्लाको अध्यक्षमा भूमि त्रिपाठी, काभ्रेपलाञ्चोक जिल्लाको अध्यक्षमा अशोक ब्यान्जु, भक्तपुर जिल्लाको अध्यक्षमा वचन देउजा, रसुवा जिल्लाको अध्यक्षमा कर्णेल तामाङ, रामेछाप जिल्लाको अध्यक्षमा आनन्दकुमार श्रेष्ठ, नुवाकोट जिल्लाको अध्यक्षमा बद्री मैनाली र मकवानपुर जिल्लाको अध्यक्षमा एकलाल श्रेष्ठ चयन भएका छन् ।

त्यसैगरी गण्डकी प्रदेशअन्तर्गत गोरखा जिल्लाको अध्यक्षमा प्रेम गुरुङ र तनहुँ जिल्लाको अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् । लुम्बिनी प्रदेशअन्तर्गत पाल्पा जिल्लाको अध्यक्षमा धनेन्द्रराज घिमिरे, गुल्मी जिल्लाको अध्यक्षमा बालकृष्ण काउछा मगर, अर्घाखाँची जिल्लाको अध्यक्षमा पीताम्बर भुसाल, बाँके जिल्लाको अध्यक्षमा किस्मतकुमार कक्षपती, बर्दिया जिल्लाको अध्यक्षमा लालबहादुर श्रेष्ठ, दाङ जिल्लाको अध्यक्षमा हुकुमबहादुर बस्नेत, रूपन्देही जिल्लाको अध्यक्षमा तेजेन्द्र केसी, कपिलवस्तु जिल्लाको अध्यक्षमा डम्मर शर्मा र नवलपरासी (पश्चिम) जिल्लाको अध्यक्षमा दीपेन्द्र अधिकारी निर्वाचित भएका छन् ।

त्यसै गरी कर्णाली प्रदेशअन्तर्गत डोल्पा जिल्लाको अध्यक्षमा शेरबहादुर बुढा, सल्यान जिल्लाको अध्यक्षमा गोविन्द पुन मगर निर्वाचित भएका छन् । सुदूरपश्चिम प्रदेशअन्तर्गत डडेल्धुरा जिल्लाको अध्यक्षमा प्रकाश साउद निर्वाचित भएका छन् । त्यसै गरी गैरभौगोलिक जिल्लाअन्तर्गत मजदुर विशेषको अध्यक्षमा जितेन्द्र श्रेष्ठ, पेसागत विशेषको अध्यक्षमा उमेश ढकाल निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्