कांग्रेस अधिवेशनको हिसाब सार्वजनिक भएन



काठमाडौं, (नेस) ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा भएको आम्दानी खर्चको विवरण अझै सार्वजनिक भएको छैन । मंसिर २४ देखि २७ सम्म काठमाडौंमा भएको महाधिवेशनमा सबैभन्दा धेरै खर्च आवास र भोजनमा भएको बताइएको छ ।

महाधिवेशन प्रतिनिधिहरूलाई राख्नका लागि राजधानीका विभिन्न होटलहरूमा करिब ४ हजार बेड बुक गरिएको थियो भने दैनिक आठ हजार जनालाई खुवाउने क्याटरिङको व्यवस्था गरिएको थियो । महाधिवेशनमा भोजन तथा आवास व्यवस्थापन समितिका संयोजकको जिम्मेवारी पाउनु भएका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले नेपाल समाचारपत्रलाई जानकारी दिएअनुसार आवास र भोजनमा भएको खर्चको हिसाब भइसकेको छैन । उहाँको भनाइ थियो– ‘अब तीन चार दिनमा कति खर्च भयो भन्ने बारेमा फाइनल हिसाब निकाल्छौं ।’
कांग्रेस अधिवेशनमा आम्दानी पनि प्रसस्त भएको छ । महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता बाट मात्र दुई हजार रुपियाँको दरले रकम लिएको कांग्रेसले उम्मेदवारी दर्ता बाट पनि मनग्य आम्दानी गरेको थियो । महाधिवेशन प्रतिनिधिमात्र ४ हजार ७ सयभन्दा बढी थिए । कुल १ सय ३४ सदस्य कार्यसमिति निर्वाचित गर्नुपर्ने महाधिवेशनमा ४ सय ८० जनाको उम्मेदवारी परेको थियो ।

अधिवेशनमा केन्द्रीय सभापति उम्मेदवारको लागि ३० हजार रुपियाँ तोकिएको थियो । उपसभापति र महामन्त्री पदको उम्मेदवारका लागि २५ हजार लिइएको भने सहमहामन्त्री पदको लागि २० हजार रुपियाँ लिइएको थियो । केन्द्रीय सदस्य पदका लागि १० हजार शुल्क तोकिएको थियो । अधिवेशनको लागि भनेर संकलन गरिएको चन्दा रकमको हिसाब किताव कतै पनि देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस्