नेपालगञ्ज नाकामा एन्टिजेन जाँच्नेको ठेलमठेल



बाँके ।

बर्दिया जिल्लाकी सावित्री थापा चारवटा बोराभरि रहेका सामान कुरेर बस्नुभएको छ । उहाँका दुई भतिजा र दुई बुहारी एन्टिजेन जाँच्ने लाइनमा छन् । ‘कोरोना जाँच्न पनि कति ठेलमठेल हो । भतिजा र बुहारी कोरोना जाँच्न गएको एक घण्टा बढी भइसक्यो । अझै फर्किएका छैनन् । भोक लागिसक्यो, कति बेला घर पुग्ने हो’, भारतको देहरादुनबाट घर फर्किएकी सावित्री भन्नुहुन्छ– ‘देहरादुनमा यस्तो डरलाग्दो अवस्था छैन । मास्क भने लगाउन भन्छन् ।’

दुई दशकदेखि नै भारतमा कामका लागि आउजाउ गर्दै आएकी सावित्रीका परिवार साउनमा भारत गएका थिए । चिसो बढेको र माघे संक्रान्ति पनि मान्न उनीहरू परिवार घर फर्किएका हुन् ।

घर बनाउने काममा मजदुरी गर्ने सावित्रीलाई नेपालगञ्ज नाका छिरेपछि कोरोना ठूलो लागेको छ । ‘देहरादुनमा मास्क लगाएर मज्जाले काम गर्छौं, यहाँ जस्तो कोरोनाको डर छैन’, सावित्रीले भन्नुभयो– ‘अरू ठाउँका व्यक्ति कोरोनाबाट डराएर आएको भए पनि हामी त त्यस्तो होइन ।’

भारतबाट आएका सावित्रीजस्तालाई नेपालगञ्ज नाकामा एन्टिजेन जाँच गरेर मात्रै पठाउने गरिएको छ । त्यसका लागि नेपालगञ्ज नाकामा रहेको जमुनाहा हेल्थ डेस्कमा कोरोना जाँच गर्नेको ठेलमठेल देखिन्छ । प्रहरीले कोरोना जाँच गरेर मात्रै जान भनेपछि भारतबाट आएकाहरू घण्टौं लाइन लागेर एन्टिजेन जाँच गर्ने गरेका छन् । नाकामा रहेको हेल्थ डेस्कको अगाडि देखिने लामो लाइनले पनि त्यसको पुष्टि गर्दछ । लाइन व्यवस्थित छैन । पोजिटिभले त्यही अरूलाई सारिदिने हो कि भन्ने जोखिम देखिन्छ ।

दैनिक करिब आठ सयसम्म एन्टिजेट जाँच हुने गर्दछ । सानो ठाउँ छ । लाइन लाग्दा लामो र भीड देखिन्छ । कर्णाली प्रदेशका विभिन्न जिल्लाका मानिसको चाप बढी छ । भारतको दिल्ली, महाराष्ट्र, चण्डीगढ, हैदरावाद, चेन्नाईबाट आएका व्यक्तिमा कोरोना देखिएको छ । यतिबेला नाकामा सबैमा ओमिक्रोन देखिएको छ ।

नेपालगञ्ज नाकामा कोरोना देखिएकालाई एम्बुलेन्समा राखेर नेपालगञ्जस्थित बालमन्दिरको आइसोलेसनमा ल्याउने गरिएको छ । आइसोलेसनमा पनि व्यवस्थित देखिँदैन । तीन दिनदेखि राखिएका व्यक्ति र आजै ल्याइएका व्यक्तिलाई एकै ठाउँमा राखिएको छ । आइसोलेसनमा ल्याइएका व्यक्तिलाई सम्बन्धित पालिकाबाट गाडी मगाएर पठाउने गरिएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीले भारतबाट आउनेहरू सबैमा ओमिक्रोन देखिएको बताउनुभयो । उहाँले भारतबाट आउने सबैलाई कोरोना जाँच गर्ने व्यवस्था मिलाइएको र पोजिटिभ देखिएकालाई आइसोलेसन केन्द्रमा ल्याएर सम्बन्धित पालिकामा पठाउने गरिएको जानकारी दिनुभयो ।

नाकामा बिहान बढी भीडभाड हुने गरेको छ । बिहान ६ बजेदेखि नै दिउँसो १२ बजेसम्म कोरोना जाँच्नेको लाइन नै लाग्छ । इलाका प्रहरी कार्यालय, जमुनाहाका इन्चार्ज मिनबहादुर विष्टले पहिला समूहमा आएकामध्ये एक÷दुई जनालाई जाँच गर्ने गरिए पनि अहिले सबैलाई जाँच गरेर मात्रै पठाउने गरेको बताउनुभयो । ‘भारतबाट आएका सबै व्यक्तिलाई हामीले कोरोना जाँच्न पठाउँछौं । उहाँहरू सबै जाँच गरेर मात्रै जानुहुन्छ, इन्चार्ज विष्टले भन्नुभयो, भारतबाट आउने र कोरोना पोजिटिभ देखिने संख्या बढ्दो रहेको छ ।’

नेपालगञ्ज हेल्थ डेस्कका स्वास्थ्यकर्मी हेमन्त रानाका अनुसार, आइतबार ६ सय ७५ जनाको कोरोना जाँच गरिएको छ । त्यसमा ३९ जनामा कोरोना देखिएको छ । रानाले दैनिक साढे सात सयसम्म कोरोना जाँच भइरहेको जानकारी दिनुभयो । नाकामा कोरोना देखिएका अधिकांशमा लक्षण चिह्न देखिएको छैन । जाँच गर्दा भने पोजिटिभ देखिएको छ । लक्षण चिह्न नदेखिएकालाई होम आइसोलेसनमा बस्न सुझाव दिने गरिएको छ । नेपालगञ्जबाट पहिलाजसरी आफैं जान दिइएको छैन ।

प्रतिक्रिया दिनुहोस्