स्वास्थ्य सतर्कता र पूर्वतयारीबारे जिल्ला प्रशासनमा छलफल



काठमाडौं ।

कोरोना संक्रमणको जोखिम फेरि बढ्न थालेपछि त्यसको रोकथाम र नियन्त्रणका उपायबारे काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयका अधिकारीहरू आन्तरिक छलफलमा जुटेका छन् । कोरोना संक्रमितको संख्या क्रमशः बढ्दै गएपछि पूर्वसतर्कता अपनाउनेबारे तीनवटै जिल्ला प्रशासन कार्यालयका अधिकारीले छुट्टाछुट्टै आन्तरिक तयारी अघि बढाएका हुन् । कोरोना संक्रमण बढ्दै गएमा प्रशासनको भूमिका कस्तो हुनुपर्दछ भन्ने विषयमा सोच्ने, विगतको समीक्षा गर्ने र सम्भावित उपायबारे कुराकानी हुने क्रम शुरू भएको प्रशासनका अधिकारीहरू बताउँछन् । यद्यपि यी कुराकानी प्रारम्भिक किसिमको रहेको बताइएको छ ।

दुई दिनअघि बसेको सीसीएमसीको बैठकले उच्च सतर्कता अपनाउने र स्वास्थ्य सुरक्षाका उपायहरू अवलम्बन गर्नुपर्नेमा जोड दिएको थियो । सोही बैठकमा भएको छलफललाई आधारका रूपमा लिँदै स्वास्थ्य सतर्कता र पूर्वतयारीका काम अघि बढाउने विषयमा आन्तरिक छलफल गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताउनुभयो । उहाँले भन्नुभयो– ‘कोरोनाको संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले गर्नुपर्ने कामको तयारी गर्न छलफल गरेका हौं । अब कसरी अघि बढ्ने ? तत्काल के गर्ने भन्नेबारे कुराकानी भएका हो । स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्ने, खोप कार्यक्रमलाई प्रभावकारी बनाउने र स्वास्थ्य पूर्वाधार तयारी अवस्थामा राख्ने विषयमा छलफल भएको छ ।’

कोरोना संक्रमितहरूको तथ्यांक बढ्दै गएको उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारी उपाध्यायले भीडभाड घटाउनुपर्ने हो कि भन्नेबारे पनि छलफल भएको बताउनुभयो । यो नितान्त अनौपचारिक किसिमको शुरूको छलफल हो । स्वास्थ्य मन्त्रालयले प्राविधिक रूपमा गर्ने मार्गदर्शन र सीसीएमसीले गर्ने निर्देशनबमोजिम जिल्लाको परिस्थितिअनुसार जिल्लाभित्र गर्नुपर्ने र काठमाडौं उपत्यकाभित्र एकीकृत रूपमा समन्वयात्मक विधिबाट काम गर्ने मनस्थिति बनाइएको जानकारी दिँदै उहाँले भन्नुभयो– ‘सीसीएमसीको निर्देशनपछि त्यसलाई औपचारिकता दिन्छौं ।’

भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले स्वास्थ्य मापदण्डमा कडाइ गर्ने, स्वास्थ्य पूर्वाधारहरू तयारी अवस्थामा राख्नेलगायतका विषयमा छलफल भएको बताउँदै भन्नुभयो– ‘एक दुई दिनपछि बस्ने उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयका प्रमुखहरूको बैठकले रोकथामको विषयमा थप र आधिकारिक निर्णय गर्नेछ ।’ कोरोना संक्रमणको अवस्थासँगै विपद् र माघ २ गते मनाइने भूकम्प सुरक्षा दिवससम्बन्धी एजेन्डाबारे पनि छलफल गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनुभयो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले कोरोना संक्रमितको संख्या र स्वास्थ्य पूर्वाधारबारे समीक्षा भइरहेको जानकारी दिँदै सीसीएमसीको बैठकपछि औपचारिक रूपमा केही निर्णय आउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्