माघ १५ सम्म विद्यालय बन्द



काठमाडौं ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने भएको छ । आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले माघ १५ गतेसम्म हिउँदे बिदा दिएर देशभरका आधारभूत र माध्यमिक विद्यालय बन्द गर्न आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग भएको छलफलपछि बसेको सीसीएमसीको बैठकले १५ दिन बिदा दिने निर्णय गरेको हो ।

बैठकले सबै १२ देखि १७ वर्ष उमेर समूहका सबै विद्यार्थीलाई अनिवार्य रूपमा खोप उलपब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ । सीसीएमसीले निर्णय गर्नुअघि प्रधानमन्त्री कार्यालयमा भएको बैठकमा शिक्षा मन्त्रालयले विद्यालय बन्द भए पनि सबै विद्यार्थीलाई खोप उपलब्ध गराउन आग्रह गरेको थियो ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले बैठकमा हिउँदे बिदासँग मिलान गर्ने र त्यस अवधिमा सबै विद्यार्थीलाई खोप लगाउने विषयमा छलफल भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो–‘हामीले बन्द नभई यो अवधिमा हिउँदे बिदा दिने सिफारिस गरेका थियौं । सो निर्णय मन्त्रालयमा आएपछि आवश्यकताको आधारमा थप निर्णय गर्नेछौं ।’ अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारीले विद्यालय बन्द गर्नुभन्दा पनि हाललाई बिदा समायोजन गर्ने विषयमा छलफल भएको बताउनुभयो । महासंघले सबै विद्यार्थीलाई विद्यालयमै पुगेर खोप लगाउने व्यवस्था गर्न निर्देशन दिएको बताउनुभयो ।

सीसीएमसीको बैठकले कोरोना भाइरसको संक्रमण उच्च दरमा बढिरहेकाले अभिभावकहरूलाई पनि बालबालिका विद्यालय नपठाउन आग्रह गर्ने निर्णय गरेको सीसीएमसीका प्रवक्ता सुनिता नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार सो निर्णय कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरूमा सिफारिस गरिसकेका छौं ।’

बैठकले विद्यालय बन्द रहेको अवस्थामा पनि १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षदेखि माथिका शिक्षक, कर्मचारी र अभिभावकलाई खोप लगाउन पनि आग्रह गरेको छ । आजको बैठकले उच्च सर्तकता अपनाउनका लागि मास्क नलगाउनेलाई सय रुपियाँ जरिवाना, २५ जनाभन्दा बढी भेला हुन नपाईने निर्णय गरेको छ । बैठकले आन्तरिक हवाई उडानका लागि अनिवार्य खोप कार्ड बोक्नुपर्ने, होटल र सिनेमा हलमा जाँदा अनिवार्य रूपमा खोप कार्ड बोक्नुपर्ने व्यवस्था गरेको छ ।

यो पनि पढ्नुहोस् : खोपकार्ड अनिवार्यदेखि विद्यालय बन्दसम्म, यी हुन् सिसिएमसीका १३ सिफारिस

 

प्रतिक्रिया दिनुहोस्