डेरावालका दुःख



केही सातायता चिसो ह्वात्तै बढेको छ । उपत्यकामा चिसो थेग्न नसक्ने अवस्थामा आइपुगेको छ । अरु वर्ष हेरी यो वर्ष चिसो ह्वात्तै बढेको मौसमविद्हरु बताउँछन् । चिसो बढेसँगै कोठाभाडामा लिएर बस्ने मानिसहरु मारमा परेका छन् । चिसो कोठामा दिनभर बस्नुपर्ने बाध्यता छ ।

कतैबाट घाम छिर्दैन, घरबेटीले छतमा जानमा बन्देज लगाएका छन् । घर ताप्नको लागि घरवरपर खुला ठाउँको व्यवस्था पनि गरिएको छैन । घरधनीहरु कोठा बहालमा लगाउँछन्, सेवासुविधा पनि केही दिँदैन् । बहालमा बस्नेलाई उनीहरुले घरको छतमा जान पनि दिँदैनन् तर बहालमा बस्नेले तोकेजति भाडा तिर्नुपरेको छ । कोठा बहालमा लिएर बस्ने मानिसहरु कोठाभित्रै निस्सासिएर बस्नुपर्ने बाध्यता छ । घाम ताप्नको निमित्त खुला ठाउँको अभावमा कोठैभित्र सिरक ओढेर बसेका छन् । कच्ची घरमा बस्ने, जग्गा लिएर टहरा हाल्नेहरु, आर्थिक कमजोर भएका, ओढ्ने–ओछ्याउनेको अभाव भएको कारणले रक्सी खाएर मुटु फुटेर मरेका छन् ।

घर बनाउनेहरु पनि तीन तलाको नक्सा पास गर्छन्, बनाउँछन् पाँच तलाको । एक फ्ल्याट घरधनी आफैँ बस्छन् र अरु सबै बहालमा लगाउँछन् । थोरै जग्गा किन्ने, पाँच तलाको घर बनाउने, बहालमा लगाउने । यो पछिल्लो समय नेपालीको सोचमा भएको विकास हो । घर बहालमा लगाउनु सबभन्दा सजिलो र घाटामा नजाने व्यापार हो । जोखिमपूर्ण घरहरु बहालमा नलगाएको भए उनीहरु शायदै मर्थे होला । बहालमा बस्नेहरु पनि आखिर नेपाली नागरिक नै थिए । बहालमा लगाउन छुट दियो तर बहालमा बस्नेको समस्या सरकारले बुझेन । सटर, कोठा र फ्ल्याटको भाडादर घरबेटीको जिब्रो छ । सरकारले घर बहाल पनि निर्धारण गरेको छैन ।

घरबेटीले इच्छा पर्यो भने बहालमा बस्नेलाई राख्छन् । इच्छा परेन भने जतिखेर पनि निक्लेर जाऊ भनिदिन्छन् । यस विषयमा पनि सरकार मौन छ । घरधनीले मागेको जति बहाल दिएन, बत्ती, पानी, फोहोरको पैसा दिएन भने निक्लिन तयार हुनुपर्छ । घरधनीको विरोधमा उजुरी गर्न जाने ठाउँ कही छैन । प्रहरी चौकीदेखि लिएर वडा कार्यालय घरधनीकै अधीनमा छ । वडाध्यक्षले बहालमा बस्नेलाई गन्दैनन् । प्रहरी चौकी घरधनीकै पक्षमा उभिन्छन् । जसले गर्दा कोठा बहालमा बस्नेहरु पिल्सिएका छन् । आर्थिक कमजोर भएका, मजदुरी गरेर जीविकोपार्जन गर्ने, एकल महिला, विद्यार्थी र तल्लो जात, मिर्गौला फेल भएका, स–साना बच्चा भएकालाई कोठा दिँदैनन् ।

घरधनीले जति अत्याचार गरे पनि अहिलेसम्म कुनै पनि सर्वसाधारण सडकमा उत्रिएका छैनन् । यिनीहरुले हामीलाई सुकुम्बासीजस्तो व्यवहार गरे पनि कुनै पनि बहालमा बस्नेले आवाज उठाएका छैनन् । नेपालका राष्ट्रपति पनि पहिलेको बहालवाला नै हुन् । देशका उच्च पदमा पुगेकाहरु पनि पहिले बहालमा बस्ने नै हुन् । उनीहरु उच्च पदमा पुगे तर बहालमा बस्नेको पीडा बिर्से । बहालमा बस्दाको पीडा उनीहरुले कोट्याउन चाहँदैनन् । भोलि आफूलाई अप्ठ्यारो पर्छ भनेर उनीहरुले कोठा बहालमा बस्नेको पीडा कोट्याउँदैनन् । किनकि हिजो बहालवालाहरु आजका घरधनी बनिसकेका हुन्छन् ।

मुलुकभर कति सर्वसाधारण कोठा बहालमा बस्छन् । यसको तथ्याङ्क सरकारसँग छैन । आफ्नो वडा, नगरमा कति बहालमा बस्छन् ? यसको विवरण राख्न जरुरी छैन र ? घर बनाउने तीन थरीका मानिस छन् । कि सरकारी जागिरे हुनुपर्यो, कि त विदेश जानुपर्यो, कि व्यापार व्यवसायी गर्न सक्नुपर्नेछ । पैसा कमाउनेहरुको पहिलो लक्ष्य घर बनाउने र भाडामा लगाउने । यो भन्दा बढी कसैले पनि सोच्दैन । कलकारखानामा लगानी गरेर देशको आय बढाउनेबारे पुँजीपति वर्गहरु पनि मौन छन् । गरिबी र धनीको अन्तरमा झन् धेरै दूरी आइरहेको छ । धनीहरु झनै धेरै धनी बन्दै गएका छन् भने गरिब झन् गरिब ।

कोठा बहालमा लिएर बस्नु र जनसंख्यामा निरन्तर उकालो लाग्नु भनेको झन्–झन् गरिबीको अन्तर बढ्दै जानु हो । कोठा बहालमा बस्ने के–के सुविधा पाउने हो भनेर एउटा कानुनसमेत नेपाल सरकारले बनाउन सकेन । कोठा बहालमा बसेपछि पानी, पार्किङ, शौचालय, लुगा सुकाउने ठाउँको व्यवस्था गर्न सित्तैमा गर्नुपर्छ । पानीको पैसा तिर्नुपर्छ, यता ट्यांकरबाट पानी किनी हाल्नुपर्ने बाध्यता छ । नुहाउन, लुगा धुन पनि आफैँले पानी किनेर हाल्नुपर्छ । सेवा–सुविधा दिन नसक्नेले किन कोठा बहालमा दिने ? किन पैसा लिने ? घरधनीहरुले बहाल लिन्छन् तर बिल दिँदैनन् । हाम्रो घर बैंक, फाइनान्सको नाममा छ भनेर अगाडि नै बहाल माग्छन् ।

पुराना मान्छे निकाल्ने र नयाँ मान्छेलाई महँगोमा भाडामा लाउने प्रवृत्ति अहिले झनै बढ्दो छ । कोठा खोज्न जाँदा तीन महिनाको भाडा अगावै नै तिर्नुपर्छ । अँध्यारो र एउटा खाट नअट्ने कोठाको मासिक ६ हजारदेखि १० हजार तिर्नुपरेको छ । सोही चिसो कोठामा बसेर बूढाबूढीमा बाथ देखिन्छ । स–साना बालबालिकामा निमोनिया । घरधनीले सटर भाडा बढाउँछन्, व्यापारीले सामानको । मारमा पर्ने फेरि पनि हामी जनता नै हो । त्यस्तै, अहिले खालि सटर बिक्री गर्ने प्रवृत्ति बढ्दो छ । एउटा खालि सटर २० लाखदेखि ५० लाखसम्म बिक्री हुन्छ । पछिल्लो समय कोठा मिलाइदिन्छु भन्दै कोठा मिलाइदिने अफिस खोलिरहेका छन् ।

घरधनीहरुले सीधै कोठा दिँदैनन् । त्यही भएर कोठा बहालमा बस्नेहरु ठगिरहेका छन् । बीचमा बसेर खाने बिचौलियाहरुले कोठा बहालमा बस्नेसँग एक महिनाको बहाल लिन्छन् । यता, घरधनीसँग पनि एक महिनाको बहाल लिन्छन् । वडाबाट कर्मचारीहरु विवरण संकलन गर्न आयो भने घरधनीले झुटो विवरण दिएर पठाउँछन् ।

घर बहाल कर छल्नको लागि घरधनीले सबै कोठामा आफन्त बसेको बताउँछन् । बहालमा बस्नेलाई समेत आफन्त बताउँछन् घरधनी । घरले भनेको कुरा मानेन भने कोठाविहीन बनाइदिन्छन् । मर्न लागेकालाई कोठाभित्र मर्न दिँदैनन् । बिरामी भएपछि कोठाभित्र जान दिँदैनन् । मर्नलाई समेत ठाउँ हेरेर मर्नुपर्ने स्थितिको सिर्जना भएको छ । कोठाभित्र बिरामी मर्छ कि भनेर पहिले नै अस्पताल लैजा भनिदिन्छन् ।

घरधनीले हामी बहालमा बस्नेलाई तल्लो दर्जामा राख्न खोज्छन् । यिनीहरुसँग केही छैन भनेर हेप्न खोज्छन् । बहालमा बस्नेसँग पैसाचाहिँ लिने तर व्यवहारचाहिँ पशुको जस्तो गर्छन् । दुःख गरेर, एकछाक मीठो नखाएर, खुट्टामा चप्पल नलाएर बहाल तिर्नु छ, त्यही पनि यिनीहरुको हप्किदप्की सहनुपर्छ ।

धारामा पानी आउनेबित्तिकै पहिला आफू थाप्छन् । अनि मात्र बहालमा बस्नेको पालो आउँछ । घरधनीले थाप्दा–थाप्दा पानी सुक्यो भने बहालमा बस्नेले थाप्न पाउँदैनन् । कोठामा कोही पाहुना आयो भने जुत्ता गन्छन् । पाहुना आएको देख्न चाहँदैनन् । कोठा छोडेर जाँदाखेरि रंगसमेत लगाइदिनुपर्छ ।

सरकारले मतलब गर्दैन, घरधनीले एक रुपैयाँ छोड्दैनन् । कोठा बहालमा लिएर बस्नेहरुले आत्महत्या गर्नुपर्ने अवस्था आएको छ । सरकारले ल्याएको कानुन कार्यान्वयनमा ल्याउन ढिला भइसकेको छ । घरधनीलाई कोठा बहाल तोक्ने अधिकार दिनुहुन्न । सरकारले हरेक कोठाको बहाल निर्धारण गर्नुपर्छ । महँगीले सीमा नाघिसक्यो, आर्थिक कमजोर भएकाहरु बाँच्न नसक्ने स्थिति बनेको छ । सरकारभन्दा घरधनी शक्तिशाली । भाडामा बस्नेसँग महँगो बहाल लिने तर राज्यलाई घर बहाल कर नतिर्ने । बहालमा बस्नेको पीडा कसले सुन्ने हो सरकार ?
संघर्ष श्रीस, काठमाडौं

प्रतिक्रिया दिनुहोस्