भगवती लेमिनेट्सको फन्दामा डिलरहरू

राजस्व ठगीका थप प्रमाण पनि सार्वजनिक



काठमाडौं ।

भगवती लेमिनेट्सले प्लाइउड व्यापारबाट करोडौं राजस्व ठगेको प्रमाणसहित शुक्रबार नेपाल समाचारपत्रमा समाचार प्रकाशित भएपछि सोही संस्थाका एक वरिष्ठ कर्मचारीले अर्का डिलरले फर्जी बिलवीजक जारी गरेको प्रमाण उपलब्ध गराएका छन्।

काठमाडौं बूढानीलकण्ठस्थित मौला कालिका प्लाइका नाममा भगवती लेमिनेट्सले मंसिर ३ गते भ्याट नम्बर ३०४ उल्लेख गरी ना ०६ ख ३१११ नं.को ट्रकमा सामान पुर्याएको छ। उक्त बिलको सबैभन्दा तल ‘के’, ‘पी’ र ‘जीटी’ लेखिएको छ। यसको अर्थ ‘के’ भनेको कच्चा बिल, ‘पी’ भनेको पक्का बिल र ‘जीटी’ भनेको ग्रान्ड टोटल हो।

बिल नं. ३०४ मा कच्चा बिलमार्फत ११ लाख ४९ हजार र पक्का बिलमार्फत १२ लाख ५७ हजार गरी २४ लाख ६ हजार लिएको देखिन्छ। यो कच्चा बिलअनुसार बिक्री १० लाख १६ हजार ८ सय ९४ र भ्याट १ लाख ३२ हजार १ सय ९६ रुपियाँ ठगी गरेको देखिन्छ।

‘आन्तरिक राजस्व कार्यालयले भगवती लेमिनेट्सको भ्याट नं. ३०४ हेरे थाहा हुन्छ कुन कारोबार सक्कली हो र कुन कारोबार नक्कली भनेर’ नेपाल समाचारपत्रलाई प्रमाण उपलव्ध गराउने कर्मचारीले भने । भगवती लेमिनेट्सको कर छल्ने यो तरिकाले गर्दा यसका सबै डिलरहरू पनि फस्ने देखिन्छ। डिलरहरूलेपनि आफ्नो फाइदा, प्रोत्साहन र बोनसका लागि कर छल्न सहयोग गरेको देखिन्छ। कम्पनीका क्षेत्रीय बिक्री व्यवस्थापक, लेखापाल र परिवारका सदस्यहरूको तीनदेखि पाँच वर्षको बैंक स्टेटमेन्ट हेरे सबै जना ‘एन्टी मनी लाउन्जरिङ केस’मा पक्राउ पर्ने देखिइसकेको छ ।

शुक्रबार नेपाल समाचारपत्रमा यो समाचार प्रकाशित भएपछि प्रायः सबै क्षेत्रीय बिक्री व्यवस्थापकको मोबाइल फोन बन्द भएको पाइएको छ । काठमाडौं बूढानीलकण्ठस्थित मौला कालिका डिलरका प्रमुख विजय ढकाललाई धेरैचोटि म्यासेज तथा टेलिफोन गर्दा उहाँ सम्पर्कमा आउन चाहनुभएन। भगवती लेमिनेट्सको कर छलीको यो फन्दामा मौला कालिकालगायत अन्य डिलरहरू पनि पर्ने देखिएको छ। प्लाइउडको व्यापार गर्ने उद्योगले नक्कली बिल बनाएर करोडौं राजस्व छलेको विषयमा शुक्रबारै समाचार प्रकाशित भइसकेको छ।

कम्पनीले वास्तविक कारोबारका लागि ‘कच्चा बिल’ प्रयोग गर्ने र भ्याटका लागि ‘पक्का बिल’ प्रयोग गर्ने गरिएको उद्योगमै कार्यरत पुराना लेखापालले बताएका थिए । उनले भनेका थिए – ‘हेर्नुस्, मैले पनि जागिर दिने साहुजीको हितमा काम गनर्पै छर्, तर अन्डर इनभ्वाइसिङको सिलिङ देखेर सरकारलाई यो परिमाणमा ठग्नुहुन्न भनेर मैले सही कुरा बाहिर ल्याएको हुँ’ मेचीनगर–१०, झापास्थित केन्द्रीय कार्यालयमा विगत लामो समयदेखि सेवा गर्दै आएका उनले कर कायार्लयले समात्ने पक्का भएपछि आफूले जागिर छोडेको बताउँदै थपे– ‘यस्तो कुरामा भित्र बसेर साहुजीहरूलाई बोल्न सकिन्न, जागिर चट भइहाल्छ।’

मध्यबानेश्वरस्थित विनायक हार्डवेयर एन्ड प्लाइ पसलको सञ्चालक कृष्णबहादुर खुलालसँग भगवती लेमिनेट्सको नाममा चेक नलिई आफ्नो व्यक्तिगत नाममा किन लिनुभयो भनी नेपाल समाचारपत्रले प्रश्न गर्दा उहाँ अनुत्तरित हुनुभयो। हुसेन अलि बढी नै कडाइका साथ कच्चा र पक्का बिलको कुरा अस्वीकार गर्दै हुनुहुन्थ्यो– ‘यो हुँदै नभएको कुरा तपाईंलाई कसले भन्यो, तपाईंले भन्ने मान्छेको नाम दिनैपर्छ।’नेपाल समाचारपत्रलाई प्रमाणसहित प्राप्त जानकारीअनुसार उद्योगले सबैजसो कारोबार अन्डर इनभ्वाइसमै गर्ने गर्दछ। खास गरी यसो गर्नुको अर्थ मूल्य अभिवृद्धि कर र आयकरबाट बच्नु नै हो। ‘पक्काबिल’ भनिने कम मूल्य राखेर काटिएको बिल सरकारलाई देखाउनका लागि र भित्रभित्रै कारोबार हुने कच्चा बिल वास्तविक कारोबारका लागि हो। यसरी कच्चा बिलको भुक्तानी गर्दा व्यक्तिगत नाममा लिने गरिन्छ। यो रकम बैंकमा जम्मा गर्दा भौचर स्लिपमा ‘सापटी भुक्तानी’ आदि लेख्ने गरिन्छ।

नेपालमा नियतवश कर छली गर्ने व्यक्तिविरुद्ध कडा कानुन छ। नक्कली बिल वा अन्डर इनभ्वाइस गरी कर छले ठगिएको रकममा शतप्रतिशत जरिवाना र ६ महिनाको जेल सजाय हुने कानुनी व्यवस्था छ।

भगवती लेमिनेट्सले प्लाइउडको नेप्लाई ब्रान्ड बजारमा विस्तार गरेको छ। ग्रेड ‘ए’ नेप्लाई, ‘बी’ ग्रेडमा वन प्लस एक्सेल, फस्ट च्वाइस, स्वाभिमान, स्वराज, स्टिलउड र ‘सी’ ग्रेड पावर जोन नाम दिइएको छ। तर, प्रायः ग्रेड ‘बी’ नेप्लाई बेचे पनि बिलचाहिँ ‘सी’ ग्रेडकै बनाउने पनि लेखापालले बताएका छन्।

यो पनि पढ्नुहोस् :
भगवती लेमिनेट्सले प्लाइउड व्यापारबाट करोडौं राजस्व ठग्दै

 

प्रतिक्रिया दिनुहोस्