बालकोटमा प्रधानमन्त्री देउवा र ओलीबीच भेटवार्ता


न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएकाे छ । शनिबार बिहान १० बजे  प्रमुख प्रतिपक्ष दलका नेता ओलीसँग उनकै निवास बालकोट पुगेर प्रधानमन्त्री देउवाले भेटवार्ता गरेकाे एक नेता जानकारी दिए ।

ओलीसँगको भेटमा संसद्को गतिरोध, अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता अनुमोदन र समसामयिक राजनीतिकलगायतका विषयमा छलफल हुने बताइएको छ।

एमाले फुटाउन अध्योदश ल्याएको, एमालेले कारबाही गरेका १४ सांसदलाई पद मुक्त नगरी पार्टी फुटाउन सभामुख अग्नी सापकोटाले भूमिका खेलेको,परामादेशबाट आफूलाई सरकारबाट विस्थापित गरेको भन्दै ओली रुष्ट बनेका छन् । ओली र देउवाको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

एमालेले निरन्तर प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको छ। बुधबार सरकार सञ्चालन गर्न गठित राजनीतिक समन्वय समितिका संयोजक एवम् कांग्रेस नेता रामचन्द्र पौडेलले पनि प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर संसद्को गतिरोध अन्त्य गर्न आग्रह गरेका थिए।