हारको डरले गठबन्धन सरकारले उपनिर्वाचन गराएन: प्रभु साह


राजविराज ।

नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री प्रभु साहले हारको डरले गठबन्धन सरकारले चुनाव नगराएको आरोप लगाएका छन् ।

शुक्रबार राजविराजस्थित राज रंगशालामा आयोजित एमालेको नवौं सप्तरी जिल्ला अधिवेशनमा साहले उपनिर्वाचन नगराउनु सरकारको अक्षम्य अपराध गरेको बताए । विभिन्न जालझेल तथा षड्यन्त्रपूर्ण ढंगले परमादेशबाट आएको सरकार जनतामाझ जानबाट डराएको पुष्टि भएको उनको भनाइ छ । एउटै विधि मानेर राष्ट्रिय सभाको चुनाव गर्न सक्ने सरकारले ६ महिनाभित्र अनिवार्य चुनाव गर्नुपर्ने संवैधानिक व्यवस्था लत्यानुले गठबन्धन सरकार जनताबाट बहिष्कृत रहेको पुष्टि भएको नेता साहले जिकिर गरे ।

पछिल्लो राजनीतिक उतारचढावको नतिजास्वरुप देशका विभिन्न क्षेत्र आज प्रतिनिधिविहीन छ । संविधानले नै एक वर्ष कार्यकाल बाँकी रहेको अवस्थामा अनिवार्य रुपमा ६ महिनाभित्र उपनिर्वाचन गर्नुपर्ने व्यवस्था छ, नेता साहले भने, विभिन्न षड्यन्त्रपूर्ण ढंगबाट बनेको परमादेशी गठबन्धन सरकार जनताबाट डराइरहेको छ । चुनाव हारिन्छ कि भन्ने त्रासका बीच यो जनविरोधी सरकारले उपनिर्वाचन गर्न नचाहेर पुष्टि गरेको छ कि वर्तमान सरकार जनताबाट बहिष्कृत सरकार हो ।