संसदको अवरोध हटाउन प्रधानमन्त्री देउवा ओलीलाई भेट्न बालकोट जाँदै


न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवा संघीय संसदमा देखिएको गतिरोध अन्त्यका लागि क्रियाशील हुने भएका छन् । लामो समयसम्म सदनमा देखिएको प्रमुख विपक्षी दल एमालेको अवरोध अन्त्य गर्ने विषयमा प्रधानमन्त्री देउवा क्रियाशील हुने भएका हुन् । यसका लागि देउवा एमाले अध्यक्ष केपी ओलीसँग छलफल गर्ने तयारीमा रहेको गठबन्धनकी नेतृ तथा राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले जानकारी दिइन् ।

‘सदनमा देखिएको अवरोध हटाउन प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँग छलफल गर्न तयार भएकाे छन् । आफ्नो पार्टी विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको र पार्टीले कारबाही गरेकालाई सांसदको मान्यता दिइरहेको भन्दै एमालेले संघीय संसदको नवौं र चालू दसैं अधिवेशनका बैठकमा नाराबाजी गर्दै अवरोध सृजना गरिरहेको छ ।

गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बिहीबार बसेको बैठकमा प्रधानमन्त्री देउवाले ओलीसँग भेटेर राजनीतिक गतिरोध अन्त्यका लागि प्रयास थाल्न लागेको जानकारी दिइएको उनले बताइन् ।

‘आज बसेको बैठकमा संयन्त्र संयोजक रामचन्द्र पौडेलले राजनीतिक गतिरोध हटाउन प्रधानमन्त्री देउवा ओलीसँग छलफल गर्न लागेकाे  ब्रिफिङ गराए’, पौडेलले भने, ‘ओली बालुवाटार आएन्न् भने म आफैँ बालकोट जान तयार रहेको देउवाले पौडेललाई बताए ।’ उनका अनुसार बुधबार भएको पौडेलसँग भेटमा देउवाले गतिरोध अन्त्यका लागि आफू ओलीलाई बालकोटमै गएर भए पनि भेट्न तयार रहेको बताएका हुन् ।

एमाले सांसदको नाराबाजीका कारण सदन बैठक प्रभावित हुँदै आएको छ । नवौँ अधिवेशनका सबै बैठकमा नाराबाजी गरेका एमाले सांसदले चालू १०औँ अधिवेशनका बैठकमा पनि अवरोध सृजना गरिरहेका छन् ।