ओमिक्रोन संक्रमण कारण भाइब्रेन्ट गुजरात समिट स्थगित,प्रधानमन्त्री देउवा नजाने


न्युज अफ नेपाल, काठमाडौं ।

भारतमा पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्र रुपमा फैलिए पछि गुजरातसरकारले यही १० जनवरीमा आयोजना गरिएको १० औं ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ स्थगित भएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा जाने भनिएको ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ कोरोना भाइरसको कारण देखाउँदै स्थगित भएको हो। सम्मेलन गुजरातको गान्धीनगरमा जनवरी १० देखि १२ (पुस २६ देखि २८)सम्म गर्ने तयारी थियो। गुजरात सरकारले कोरोना भाइरसको जोखिम बढेको भन्दै सम्मेलन स्थगित गरेको जनाएको छ।

भारतले कार्यक्रम स्थगित गरेपछि प्रधानमन्त्री देउवाको गुजरात भ्रमणसमेत स्थगित भएको बालुवाटार स्रोतले जनाएको छ। परराष्ट्र मन्त्रालयले कांग्रेस सभापति एवम् प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति रामनाथ कोविन्दसँग भ्रमणको पहिलो दिन नयाँ दिल्लिमा भेटवार्ता गर्ने कार्यसूची बनाएको थियो।