लामटाङ राष्ट्रिय निकुञ्जमा १० हजार पर्यटकले भ्रमण गरे



रसुवा ।

लामटाङ राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्म १० हजार चार सय पर्यटकहरूले भ्रमण गरेका छन् । लाङटाङ, गोसाइकुण्डलगायत पर्यटकीय अन्य ठाउँमा नेपाली नौ हजार सात सय ८२ जना, सार्क मुलुकबाट ५२ जना र अन्य विदेशी पाँच सय ६६ जना रहेका छन । उनीहरूबाट ३१ लाख ६५ हजार ५६ रूपियाँ राजश्व संकलन भएको सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी भुपेन्द्र यादवले जानकारी दिनुभयो ।

नेपालको संघीय राजधानी काठमाडौंबाट सबैभन्दा नजिकको हिमाली राष्ट्रिय निकुञ्ज रसुवा, नुवाकोट, सिन्धुपाल्चोक गरी एक हजार सात सय १० वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । पदयात्राको लागि सगरमाथा राष्ट्रिय निकुञ्ज र अन्नपूर्ण संरक्षण क्षेत्रपछिको तेस्रो गन्तव्य स्थलका रूपमा परिचित रहेको यस निकुञ्ज नेपालकै पहिलो हिमाली राष्ट्रिय निकुञ्ज हो ।

समुन्द्री सतहबाट एक हजार मिटरदेखि सात हजार दुईसय ४५ मिटरसम्म फैलिएको यस निकुञ्ज जैविक, विविधताको भण्डार मानिन्छ । वन क्षेत्र, घाँसे मैदान क्षेत्र, झाडी बुट्यान क्षेत्र तथा सिमसार क्षेत्र यस निकुञ्जका मुख्य भू–उपयोग हुन् ।

यस निकुञ्जमा साल, खोटे, सल्ला, कटुस, गोब्रेसल्ला, धुपी, सल्ला, खस्रु, भोजपत्र, गुराँसलगायत एक हजारभन्दा बढी प्रजातिका वनस्पतिहरू र रेडपाण्डा कस्तुरी मृग, हिउँ चितुवा, ध्वाँसे चितुवा, ब्वाँसो, सालक, चरिबाघ, आसामी रातो बाँदर, लंगुर, थार, घोरल, हिमाली कालो भालुजस्ता दुर्लभ तथा महत्वपूर्ण वन्यजन्तुहरूसमेत पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्