पर्सामा निर्वाध तस्करी



वीरगञ्ज ।

पर्सामा तस्करीजन्य गतिविधि बढेको पाइएको छ । प्रहरीकै संलग्नतामा दिनमा र रातको समयमा विभिन्न सामानको भन्सारबिना ओहोरदोहोर गराउने क्रम बढेको नाका क्षेत्रका स्थानीयले बताएका छन् । रक्सौलबाट वीरगञ्जमा सामान ल्याएर बिक्री गर्दै आइरहेका एक व्यापारीले आफूले दुई वर्षदेखि निरन्तर यो काम गर्दै आइरहेको र हाल भने केही सहज भएको बताएका छन् । उनले पर्सामा नयाँ प्रहरी उपरीक्षक आएपछि मासिक प्रहरीलाई बुझाउने दररेटमा पनि परिवर्तन भएको बताएका छन् ।

पहिला मासिक १२ हजारसम्म दिएर निर्वाध सामान ओसारपसार गर्न पाउने भए पनि अहिले भने मासिक ३० हजार दिन परेपछि आफूले मासिक दिन छाडेको उनले बताए । उनीहरुले मासिक दिन छाडेपछि भने प्रहरीले दुःख दिने गरेको र आफ्नो सामानहरू खोस्ने गरेको बताएका छन् । उनले ग्याँसलगायतका विभिन्न वस्तुहरू रक्सौलबाट वीरगञ्ज ल्याएर बिक्री गर्ने गर्दछन् । उनका अनुसार वीरगञ्जको विभिन्न नाकाबाट रातको समयमा हजारौं व्यक्ति सामान लिनका लागि रक्सौल जाने र आउने गर्दछन् । ठूलो गाडीमा समेत सामानको तस्करी हुने गरेको उनको भनाइ छ ।

यद्यपि, जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले भने सीमा क्षेत्रमा पहिलो लाइनमा सशस्त्र प्रहरी रहने भएकाले पहिलो तस्करीजन्य क्रियाकलाप रोक्ने जिम्मा सशस्त्र प्रहरीको भएको र आफूहरू दोस्रो लाइनमा रहने भएकाले प्रहरीको भूमिका कम हुने र प्रहरीलाई मासिक रकम दिएको कुरा कसैले प्रमाण पेस गरे कारबाही गरिने जिकिर गर्नुभयो । प्रहरीसँग भएको तथ्यांकले पनि तस्करी नियन्त्रणमा प्रहरी सफल भएको पुष्टि हुने बताउनुभयो । यस्तै, सशस्त्र प्रहरी बल पर्साका प्रहरी उपरीक्षक राजेन्द्र खड्काले आफूलाई यस विषयमा केही जानकारी नभएको र बुझ्ने प्रतिक्रिया दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्