पर्सामा निर्बाध तस्करी


कृष्णउदास खनाल, वीरगन्ज । 

पर्सामा तस्करीजन्य गतिविधिहरू बढेको पाइएको छ । प्रहरीकै संलग्नतामा  दिनमा र रातको समयमा विभिन्न सामानहरूको भन्सार बिना ओहोरदोहोर गराउनेक्रम  तस्करी बढेको नाका क्षेत्रका स्थानीयहरुले बताएका छन् ।

रक्सौलबाट वीरगन्जमा सामान ल्याएर बिक्री गर्दै आइरहेका एक जना व्यापारीले आफूले दुइ वर्ष देखि निरन्तर यो काम गर्दे आइरहेको र हाल भने केही सहज भएको बताएका छन् । उनले पर्सामा नयाँ प्रहरी उपरीक्षक आएपछि मासिक प्रहरीलाई बुझाउने दररेटमा पनि परिवर्तन भएको बताएका छन् । पहिला मासिक १२ हजारसम्म दिएर निर्बाध सामान ओसारपसार गर्न पाउने भए पनि अहिले भने मासिक ३० हजार दिन परेपछि आफूले मासिन दिन छाडेको बताए ।

मासिक दिन छाडेपछि भने प्रहरीले दुःख दिने गरेको र आफ्नो सामानहरू खोस्ने गरेको बताएका छन्  । उनले ग्याँस लगायतका विभिन्न बस्तुहरू रक्सौलबाट वीरगन्ज ल्याएर बिक्री गर्ने गर्दछन्  । उनका अनुसार वीरगन्जको विभिन्न नाकाबाट रातको समयमा हजारौँ व्यक्तिहरू सामान लिनका लागि रक्सौल जाने र आउने गर्दछन् । ठुलो गाडीमा समेत सामानको तस्करी हुने गरेको उनको भनाइ छ ।

यद्यपि जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले भने सीमा क्षेत्रमा पहिलो लाइनमा सशस्त्र प्रहरी रहने भएकाले पहिलो तस्करीजन्य क्रियाकलाप रोक्ने जिम्मा सशस्त्र प्रहरीको भएको र आफूहरू दोस्रो लाइनमा रहने भएकाले प्रहरीको भूमिका कम हुने  र प्रहरीलाई मासिक रकम दिएको कुरा कसैले प्रमाण पेश गरे कारबाही गरिने जिकिर गर्नुभयो ।

प्रहरीसँग भएको तथ्याङ्कले  पनि तस्करी नियन्त्रणमा प्रहरी सफल भएको पुष्टि हुने बताउनुभयो । यस्तै सशस्त्र प्रहरी बल पर्साका प्रहरी उपरीक्षक राजेन्द्र खड्काले आफूलाई यस विषयमा केही जानकारी नभएको र बुझ्ने प्रतिकृया दिनुभएको छ  ।