यातायात व्यवस्था कार्यालय कास्कीमा डिजिलाइजेसन प्रविधिको सुरुवात 



कास्की ।

यातायात व्यवस्था कार्यालय कास्कीका सेवाहरू अनलाइन मार्फत प्रदान गरिने भएका छन् । बुधवार यातायात व्यवस्था कार्यालय कास्कीमा गण्डकी प्रदेश सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले कार्यालयका सम्पूर्ण फाइल र ठड्डाहरु स्क्यानिङ एन्ड डिजिलाइजेसन गर्ने ठेक्का पाएको परामर्शदाता कम्पनी (सिड राजदेवी समृद्धि जे.भी.) ले तयार पारेको मोबाइल एप र वेबसाइटको एक कार्यक्रमका बिच उद्घाटन गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खड्काले यातायात कार्यालयहरूबाट प्रदान गरिने सेवामा समयानुकूल सुधार र सरलीकरण गर्ने कार्य गण्डकी प्रदेश सरकारको प्राथमिकतामा परेको बताउँदै यातायात कार्यालयहरूले दिने सेवाले गण्डकी प्रदेश सरकारको मूल्याङ्कन हुन बताउनुभयो ।

 

उहाँले यातायातका सेवाहरू अनलाइन मार्फत गर्ने कार्यको सुरुवात कास्की वाट सुरु गर्न लागिएको, सरकारको सफलता यातायात जस्ता सेवा प्रवाह गर्ने कार्यालयहरूले जनताहरूलाई दिने सेवा मार्फत हुने भन्दै जिम्मेवारीका साथ काम गर्न कर्मचारीहरूलाई निर्देशन दिँदै यातायात कार्यालयको सेवा दिने शैली परम्परावादीबाट मुक्त गराउनु पर्नेमा जोड दिनु भयो ।

मन्त्री खड्काले कार्यालयका कर्मचारीलाई थप निर्देशन दिँदै कार्यालयबाट प्रदान गरिने सेवा सेवाग्राही मैत्री बनाई सरकार भए जस्तो महसुस गराउन र सेवाग्राहीलाई बिचौलियाको हातबाट मुक्त गराई बिचौलिया रहित कार्यालय बनाउन सहयोगी कक्षलाई प्रभावकारी बनाउनु पर्ने भनाई रहेको थियो । सरकार जनताको सेवक हो र सबै सुविधा र सेवाको पहिलो हकÞदार जनता हो भन्ने लोकतान्त्रिक मान्यताप्रति प्रदेश सरकार प्रतिबद्ध रहेको समेत बताउनु भयो । उहाँले कार्यालयका काम कारबाही पेपरलेस बनाउनु पर्ने समेत बताउनु भएको थियो ।

यातायात व्यवस्था कार्यालयका प्रमुख डिल्लीराम रिजालले यातायात व्यवस्था कार्यालय सवारी कास्कीमा सुदारको कार्यको थालनी भएको उल्लेख गर्दै कार्यालयको सेवा अनलाइन मार्फत गर्ने गरी कार्यको सुरुवात भएको बताउनु भयो । उहाँले सेवाग्राहीहरूले छिट्टै नै अनलाइनमार्फत सेवा लिन सक्ने जानकारी दिँदै कार्यालयमा भएका फाइल र ढड्डाको स्क्यानिङ एन्ड डिजिलाइजेसनको कार्यको डिजिलाइजेसनका पाँच चरण मध्ये तीन चरण हार्डवेयर, सफ्टवेयर, इस्टले सनका कार्य झण्डै सम्पन्न भइसकेको र बाँकी कार्यहरू अगामी जेष्ठ मसान्तसम्ममा सकिने र भइरहेको डिजिलाइजेसन प्रक्रियालाई विस्तार गरी थप प्रविधियुक्त बनाइ नागरिकहरूले घरमै बसेर यातायातका सेवाहरू लिन सक्नेमा विश्वास व्यक्त गर्नु भयो ।

कार्यक्रमको प्रस्तुति कार्यालयमा हालसम्म भएको प्रगति र आगामी कार्य योजनाका बारेमा परामर्शदाता कम्पनी (सिड राजदेवी समृद्धि जे.भी.)का टिम लिडर कृष्ण कुमार देवले गर्नु भएको थियो । कार्यक्रममा मन्त्रालयका प्रशासन तथा यातायात महाशाखा प्रमुख टीकाराम पौडेल, यातायात व्यवस्था कार्यालय सवारी, कास्कीका सूचना अधिकारी लक्ष्मीभद्र वाग्ले, यातायात शाखा प्रमुख केदार सापकोटा लगायत विभिन्न कार्यालयहरूका कर्मचारीहरूको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्