कागजन्य फोहोरबाट अण्डा राख्ने क्रेटको उत्पादन


डोरशंकर बरुवाल,रामेछाप ।

रामेछापमा कागजन्य फोहोरबाट अण्डा राख्ने क्रेटको उत्पादन सुरु भएको छ ।ग्रिन हाई लाइट नेपाल प्राइभेट लिमिटेड नामको कम्पनीले जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ८ बिटारमा कागजजन्य फोहोरलाई कच्चा पदार्थको रूपमा प्रयोग गरी अण्डा राख्ने क्रेट उत्पादन गरिरहेको हो ।

स्थानीय सात जना युवाहरूले प्रति व्यक्ति दश लाख रुपैयाँ लगानी गरी क्रेट उत्पादन गर्ने उद्योग सञ्चालनमा ल्याएको सञ्चालक जय मानन्धरले बताउनुभयो ।फोहोरको उचित व्यवस्थापनको अभावले वातावरणलाई नै प्रदूषण पारिरहेको बेला यस्तो व्यवसाय सञ्चालन हुनाले फोहोर व्यवस्थापनमा सहज र मन्थली बजारको फोहोर नियन्त्रणमा सहयोग स्थानीय व्यापारीहरू बताऊ छन् ।

कागजजन्य फोहोरबाट अण्डा राख्ने क्रेट उत्पादन हुने उद्योग सञ्चालनमा आएसँगै जिल्ला सदरमुकामको फोहोर व्यवस्थापनमा सहज भएको छ भने मानिसले रोजगारी पनि पाएका छन् ।उद्योगले अहिले प्रतिदिन तीन हजार थान क्रेट उत्पादन गरिरहेको छ, उत्पादित क्रेट १० प्रतिशत रामेछाप जिल्ला मै बिक्री हुन्छ, बाँकी उत्पादन दोलखा, सिन्धुली, काठमाण्डौं र चितवनमा बिक्री हुने गरेको सञ्चालक मानन्धर बताउनु हुन्छ ।
फोहोरका रूपमा फालिएका कागज, किताब, कापी, पत्रिका, कार्टुन लगायतलाई प्रशोधन गरी क्रेट बनाइन्छ । पानी र कागजलाई मिलाएर मेशिनमा राखेपछि मेशिनले क्रेट तयार पार्दछ ।

घाममा सुकाएपछि क्रेट बिक्रीको लागि तयार हुन्छ । कम्पनीले कागजको गुणस्तर हेरी बजार क्षेत्रका व्यवसायी, कवाडी सामाग्री सङ्कलकहरू र फोहोर उठाउने ठेकेदारसँग प्रति किलो ८ रुपैयाँसम्ममा किन्ने गरिएको अर्का सञ्चालक विश्वास श्रेष्ठले बताउनुभयो । कागजजन्य फोहोर फाल्न फोहोरको गाडी कुर्नेहरू अहिले त्यही कागज बिक्री गर्न थालेका छन् । चार वटा मेशिन चलाएर फालिने कागजबाट क्रेट उत्पादन गर्ने जिल्लामै पहिलो पटक सञ्चालनमा आएको यो उद्योगले १७ जनालाई नियमित रोजगारी उपलब्ध गराइरहेको छ ।