मिसाहिटीको मूर्ति चोरेको अभियोगमा मुद्दा दायर



ललितपुर ।

ललितपुरको प्रसिद्ध बंगलामुखी मन्दिर नजिकै रहेको भगवान नारायणको मूर्ति चोरी गरिएको आरोपमा पक्राउ परेका दुई जनाविरुद्ध प्रहरीले ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरले रामेछाप घर भई हाल ललितपुरमा बस्ने २४ वर्षीय नेसनल योञ्जन र नटोल निवासी ४५ वर्षीय सानुलाल महर्जनलाई नियन्त्रणमा लिएको हो । परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जन भन्नुभयो– ‘चोरीको अभियोगमा जिल्ला अदालत ललितपुरमा मुद्दा दर्ता गरिसकेका छौं । घटनामा अरूको पनि संलग्ता छ कि छैन ? पक्राउ परेकाहरूको संलग्नता के कस्तो छ भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।’ ललितपुर जिल्ला अदालतले हाल उनीहरूलाई सात दिन थुनामा राख्न आदेश दिएको छ ।
ललितपुर महानगरपालिका–११ स्थित सो मन्दिर परिसरको मूलढोका नजिकको ढुंगेधारा (मिसाहिटी) को माथि रहेको कलात्मक मूर्ति गत मंसिर २७ गते राति चोरी भएको थियो । प्रहरी चौकीबाट करिब ५० मिटर दूरी अगाडि भएको सो घटनालाई लिएर सम्पदा अभियन्ताहरूले सामाजिक सञ्जालमार्फत चासो प्रकट गरेका थिए । प्रहरीकै अनुसन्धानकै क्रममा बाडेगाउँमा भएको मूर्ति चोरीको आरोपमा योञ्जन पक्राउमा परेको थियो ।

बंगलामुखीमा भएको चोरीमा पनि निज संलग्नता हुने सक्ने आशंका गरी सोधपुछ गर्दै जाँदा सो घटनाको तथ्य बाहिर आएको महानरीय प्रहरी प्रभाग मंगलबजारका प्रमुख एवं प्रहरी निरीक्षक रामकृष्ण श्रेष्ठले बताउनुभयो । निज योञ्जनले आफूले चोरेका मूर्तिहरू महर्जनलाई बेच्ने गरेको बताएपछि परिसरबाट खटिएको प्रहरीको टोली महर्जनलाई पक्राउ गरिएको थियो । चोरी भएको मूर्ति ललितपुर महानगरपालिका–९ च्यासलको बस्ती नजिकको झाडीमा फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्