कांग्रेस प्रवेश गर्नेको लहर



इलाम, (नेस) ।

पछिल्लो समय इलाममा विभिन्न राजनीतिक दल परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नेको लहर बढ्दै गएको छ । नेकपा एमाले, नेकपा माओबादी केन्द्रलगायतका पार्टीप्रति असन्तुष्ट हुँदै धेरै नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् ।

आफू आबद्ध पार्टीमा भएका गतिविधिप्रति चरम असन्तुष्टि जनाउँदै कांग्रेसले अँगालेको समाजवादको सिद्धान्तमा एकताबद्ध हुन कांग्रेसमा प्रवेश गरेको पार्टी परित्याग गर्नेहरु बताउँछन् । कांग्रेसको वडादेखि केन्द्रीय अधिवेशन सकिएपछि इलामसहित देशैभर कांग्रेस अहिले पार्टी प्रवेश अभियानमा लागेको छ । इलाम कांग्रेस पनि यो अभियानमा वडादेखि नै सक्रिय भएर लागेको छ । माईजोगमाई गाउँपालिका–४ मा मात्रै विभिन्न पार्टी परित्याग गरी १ सय बढी कांग्रेसमा प्रबेश गरिसकेको वडा समिति सचिव सुरेश भट्टराईले बताउनुभयो । नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनलाई समेत मध्यनजर गरेर जिल्ला समितिको निर्देशमा वडादेखि नगर, प्रदेश र क्षेत्रीयस्तरमा संगठन विस्तार, प्रशिक्षणलगायतका कार्यक्रम गर्दै आएको उहाँले बताउनुभयो ।

जनताको कामसँगै विकास निर्माणमा अग्रसर र जनताको समस्या बुझ्ने पार्टी नै कांग्रेस भएकाले कांग्रेसमा प्रवेश गरेको इलाम नगरपालिका–८ सिङफ्रिङका देवीभक्त रायाले बताउनुभयो । राया विप्लव नेतृत्वको नेकपाको जिल्लास्तरका नेता हुन् । पार्टीको जिल्ला अधिवेशनपछि कांग्रेस इलामले हालसम्म २ हजार बढीलाई कांग्रेसमा भित्र्याइसकेको पार्टीका जिल्ला सभापति डम्बर खड्काले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्