खोपमै केन्द्रित हुन स्वास्थ्यकर्मीको सुझाव



लन्डन, एजेन्सी ।

बेलायतमा कार्यरत नेपाली स्वास्थ्यकर्मीले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनले आक्रान्त बनाइरहेका बेला नेपाल कोभिडविरुद्धको खोपमै केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरेका छन् । नेपाल पत्रकार महासंघ बेलायत शाखाले सञ्चालन गरेको स्वास्थ्य सचेतना कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन् ।

ओमिक्रोनको विश्वव्यापी ट्रेन्ड हेर्दा नेपालमा पनि संक्रमण थप जटिल बन्न सक्ने जोखिम देखिएको भन्दै उनीहरुले नेपाल सरकारलाई खोप वितरणमै थप ध्यान दिन सल्लाह दिएका छन् । स्वास्थ्य सचेतना कार्यक्रममा कन्सल्टेन्ट रेस्पिरेटोरी फिजिसियन डा. सुधीर लोहनीले नयाँ ओमिक्रोन भेरियन्टमा समेत खोप ८० प्रतिशतभन्दा बढी प्रभावकारी पाइएको बताउनुभएको छ । बेलायतको केन्टस्थित ड्यारेन भ्याली अस्पतालमा कार्यरत उहाँले ओमिक्रन भेरियन्ट तुलनात्मक रूपमा कम घातक तर बढी संक्रामक रहेको बताउनुभएको थियो ।
‘यसको संक्रमणले फोक्सोमा भन्दा पनि बढी घाँटीमा असर गर्ने भएकाले कम घातक छ । तर, संक्रमण दर बढी रहेका कारण स्वास्थ्य सेवाहरुले थेग्नै नसक्ने तहको भार सिर्जना हुने खतरा देखिएको छ ।’ –डा. लोहनीले भननुभयो ।

संक्रमण भइहालेको अवस्थामा आफूलाई सक्रिय राख्न निकै महत्वपूर्ण रहने उहाँको सुझाव छ । ‘शरीर निस्क्रिय रहँदा फोक्सोले कम काम गर्ने र संक्रमण जटिल हुने भएकाले सक्रिय भइराख्नु महत्वपूर्ण हुन्छ ।’ –उहाँ भन्नुहुन्छ ।

त्यस्तै, नेप्लिज डक्टर्स् एसोसिएसन यूकेका अध्यक्ष एवं कन्सल्टेन्ट सर्जन डा. कमल अर्यालले ओमिक्रोन बढी संक्रामक रहेका कारण थप सजगता जरूरी रहेको धारणा व्यक्त गर्नुभयो । सुरक्षाका लागि बुस्टर खोप लिन सल्लाह दिँदै उहाँले भीडभाडमा नजाने, नियमितरूपमा हात धुने, सुरक्षित दूरी कायम गर्ने, मास्क लगाउने जस्ता सतर्कता पनि अपनाउन सुझाव दिनुभएको थियो । नेपालको हकमा पनि ओमिक्रोन संक्रमण थप जटिल बन्ने जोखिम औंल्याउँदै डा. अर्यालले नेपाल सरकारले अहिले खोप वितरणमै बढी ध्यान दिनुपर्ने बताउनुभयो ।
‘ओमिक्रोनका कारण बेलायतका अस्पतालमा समेत अहिले चाप निकै बढेको छ’, बेलायतमै कार्यरत सिनियर नर्स सुनीता गौतम थापा भन्नुहुन्छ– ‘तीव्र फैलिरहेको संक्रमणले अस्पताल भर्ना हुने तथा आईसीयूमा जाने बिरामी बढेको र धेरै स्वास्थ्यकर्मी नै संक्रमित बनेकाले समस्या थपिएको छ ।’

प्रतिक्रिया दिनुहोस्