सीमामा प्रहरीको गण र बीओपी भवन



बैतडी ।

भारतसँग सीमा जोडिएका बैतडीका विभिन्न स्थानमा सशस्त्र प्रहरी बलको भवन निर्माण गरिएको छ । झुलाघाट नाकामा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बीओपी) को भवन निर्माण भइसकेको छ । यस्तै, पञ्चेश्वर गाउँपालिकाको रोलघाटमा निर्माण कार्य जारी रहेको र शिवनाथ गाउँपालिकाको कुस्मौत घाटमा निर्माण हुने प्रक्रियामा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्मले जनाएको छ ।

गुल्मका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक गणेशबहादुर शाहका अनुसार झुलाघाटमा २०७७ चैत २३ गतदेखि आफ्नै भवनमा सशस्त्र प्रहरी बसेको छ । कुल ९९ लाख २३ हजार ४ सय रुपियाँमा रोयल क्षमादेवी जेभीले बीओपी भवन निर्माण सम्पन्न गरेको हो । एक ब्लक कार्यालय प्रयोजन र एक ब्यारेकका लागि झुलाघाटमा बीओपी भवन बनाइएको छ । ‘यसअघि भाडाकै घरमा बीओपी भवन राखिएको थियो, आफ्नै भवन निर्माण भएपछि निकै सहज भएको छ ।’ –उहाँले भन्नुभयो ।

रोलघाटमा पनि झुलाघाटको जस्तै बीओपी भवन निर्माण कार्य भइरहेको छ । २०७८ असार मसान्तसम्म भवन निर्माण गर्ने गरी अग्रिम पीपी जेभीसँग सम्झौता भएकोमा कोरोना कहरका कारण २०७८ चैत मसान्तसम्म म्याद थप भएको छ । भवन निर्माणका लागि ९३ लाख ४९ हजार ३ सय ३७ रुपियाँमा सम्झौता भएको हो । यस्तै, कुस्मौत घाटमा पनि २०७९ असार मसान्तसम्म सक्ने गरी टेन्डर आह्वान गरिएको छ । १ करोडको लागतमा बन्ने उक्त भवनका लागि २ कम्पनीको टेन्डर परेको छ । टेन्डर परेकामध्ये मूल्यांकनको आधारमा एक कम्पनीद छनोट गरिने सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्म बैतडीले जनाएको छ ।

भारतसँग सीमा जोडिएका झुलाघाट, रोलघाट र कुस्मौतघाटमा हाल बीओपी स्थापना भइसकेका छन् । यसका साथै जिल्लाका अन्य तीन स्थानमा पनि बीओपी स्थापनाको तयारी भएको छ । पञ्चेश्वरको विनायकघाट र धर्मघाट तथा दशरथचन्द नगरपालिकाको बाराकोटमा सशस्त्र प्रहरीको बीओपी स्थापना गर्ने तयारी भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्मका प्रमुख शाहले बताउनुभयो । ‘बीओपी पनि स्थापना गर्ने र सँगसँगै भवन पनि बनाउने प्रक्रिया थालेका छौं’, –उहाँले भन्नुभयो– ‘जग्गा खोजी प्रक्रियामा रहेका र अन्य ठाउँमा पनि जग्गा मिलेपछि बीओपी स्थापना हुनेछन् ।’

गुल्मसँग समेत आफ्नै भवन नरहेको र हाल डिभिजन सहकारी कार्यालयको भवनमा बसिरहेको छ । सहकारी कार्यालय दशरथचन्द नगरपालिकालाई हस्तान्तरण भइसकेपछि गुल्म स्थापना भएको र नगरपालिकाले प्रशासनमार्फत सहकारी विकास र संघीय मामिला मन्त्रालयलाई सिफारिस गरिएको छ । सशस्त्र प्रहरीलाई उक्त भवन हस्तान्तरणका लागि सिफारिस गरि मन्त्रालयमा पठाइएको स्वीकृत भएर आएपछि हस्तान्तरण हुने जनाइएको छ । सीमा क्षेत्रको रक्षा, सीमामा हुने अपराध न्यूनीकरणका लागि सीमा क्षेत्रमा सशस्त्र प्रहरी खटाउने नेपाल सरकारको नीतिअनुसार गुल्म र बीओपी स्थापना गरिन लागिएका हुन् ।

यस्तै, सीमा क्षेत्रमा हुन सक्ने अवाञ्च्छित गतिविधि, अवैध कारोबार, मानव बेचविखन जस्ता जघन्य अपराध तथा राजस्व चुहावट बीओपी स्थापना गरिएको हो । बैतडीमा भारतसँग ६१ किलोमिटर सीमा क्षेत्र जोडिएको छ । उक्त क्षेत्रमा हाल तीन ठाउँमा बीओपी स्थापना भएका र उनीहरुलाई सबैक्षेत्रमा परिचालन गर्ने गरिएको छ ।

सदरमुकामस्थित गढीमा गुल्म स्थापना भएपछि सीमाक्षेत्रमा बीओपी स्थापना गरेर सशस्त्र प्रहरीले आफ्नो उपस्थिति बढाएको हो । गुल्ममा हाल सशस्त्र प्रहरी नायव उपरीक्षक नेतृत्वमा १ सय ६० र बीओपीमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३५ जनाको टोली रहेको छ ।

प्रतिक्रिया दिनुहोस्