आमालाई पोषण वितरण



लमजुङ , (नेस) ।

बेंसीशहर नगरपालिका–८ प्रगतीटोलले सुनौलो हजार दिनका आमाहरूलाई पोषण वितरण गरेको छ । आमाको पोषण सुधारका लागि गर्भवती र सुत्केरी तथा सुनौलो हजार दिनका २ सय ६० जनालाई वडाले पोषण तथा अण्डा वितरण गरेको हो ।

मंगलबार बेंसीशहर नगरपालिका–८ का वडाध्यक्ष पवित्र थापा रानाको अध्यक्षता एवं बेंसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । पोषणयुक्त खानपानले हजार दिनका आमा र बच्चाको स्वास्थ्य सुरक्षित हुने, बच्चाको वृद्धि, विकासमा सुधार हुने नगरपालिका प्रमुख अर्यालले बताउनुभयो । यस्ता खाले कार्यक्रमका लागि नगरपालिकाले पनि सक्दो सहयोग गर्ने उहाँको भनाइ थियो ।

हजार दिनका आमा र बच्चालाई विभिन्न प्रकारका रोगले छिट्टै आक्रमण गर्न सक्ने भएकाले दुवैको पोषणमा सुधार ल्याउन तथा उनीहरुलाई पोषणको महत्ववारे जानकारी दिने उद्देश्यले अण्डा वितरण गरिएको वडाध्यक्ष रानाले बताउनुभयो । महिला लक्षित कार्यक्रमअन्तर्गत विनियोजित १ लाख ५० हजार बजेटबाट गर्भवती तथा सुत्केरी महिला र बालबालिकाको पोषणस्थितिमा सुधार ल्याउन एक जना आमा बराबर एक किरेट अण्डा वितरण गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाका सिनियर अनमी निर्मला खड्काले सुनौलो हजार दिनका आमा र बच्चाको स्वास्थ्यमा ध्यान दिनुपर्ने कुराहरु, आहारलगायतका बारेमा प्रकाश पार्नुभएको थियो । पोषणको कमीले सुनौला हजार दिनका आमा र बच्चालाई विभिन्न प्रकारका रोगले आक्रमण गर्ने भएकाले पोषणयुक्त खानपानमा ध्यान दिएर उनीहरुको स्वस्थ्य सुरक्षालाई सुरक्षित राख्न सुत्केरी, गर्भवती र सुनौला हजार दिनका आमाहरुलाई पोषण वितरण गरीएको वडा सचिव घनबहादुर कुतालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्