आगलागीपीडितलाई आर्थिक सहयोग



सिन्धुली, (नेस) ।

सिन्धुलीको मरिण गाउँपालिकाले मंगलबार आगलागीपीडितलाई आर्थिक सहयोग गरेको छ । पालिकाको वडा नंम्बर २ सखौरीका पीडित धनजित जिम्बालाई गाउँपालिकाले नगद ५० हजार आर्थिक सहयोग गरेको हो ।

आगलागीका कारण पीडित जिम्बाको एउटा घरसहित अन्नपात, लत्ताकपडा, भाडावर्तन तथा नगद जलेर नष्ट हुँदा लाखौंको धनमाल क्षति भएको थियो । दैनिकी गुजाराका लागि आर्थिक सहयोग गरिएको गाउँपालिकाले जनाएको छ । पीडित जिम्बालाई विपद् कोषबाट सहयोग गरिएको मरिण गाउँपालिका अध्यक्ष पानीराज बम्जनले बताउनुभयो । सहयोग रकम लिन गाउँपालिकाको कार्यालयमै आइपुगेका पीडित जिम्बालाई गाउँपालिका अध्यक्ष बम्जनले सहयोग रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।

त्यस्तै, सोमबार सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले पनि आगलागीपीडित परिवारलाई आर्थिक सहयोग गरेको छ । हरिहरपुरगढी–५ लट्टेखोलाका आगलागीपीडित रमेश भोलनलाई गाउँपालिकाले नगद २५ हजार आर्थिक सहयोग गरेको हो ।

गत तिहारको अघिल्लो दिन आगलागी हुँदा एउटा घरसहित अन्नपात, लत्ताकपडा, भाडावर्तनलगायतका सामान जलेर नष्ट भई लाखौंको क्षति भएको पीडित भोलनले बताउनुभयो । पीडित भोलनलाई विपद् कोषबाट सहयोग गरिएको हरिहरपुरगढी गाउँपालिका अध्यक्ष कार्साङ लामाले बताउनुभयो । सहयोग रकम लिन गाउँपालिकाको कार्यालयमै आइपुगेका भोलनलाई गाउपालिका अध्यक्ष लामाले सहयोग रकमको चेक हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्