संघीयता चिनाउने गरी काम गर्न कर्मचारीलाई मुख्यमन्त्रीको निर्देशन



पोखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संघीयताको मुख्य उपलब्धि नै प्रदेश सरकार भएकाले नागरिकलाई अनुभूति हुने गरी कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले चौंथो र पाँचौं तहका कर्मचारीका लागि गरेको सेवाकालीन तालिमको उद्घाटनका क्रममा उहाँले उक्त निर्देशन दिनुभएको हो ।

‘संघीयता के हो भनेर चिनाउने पहिलो र महत्वपूर्ण अंग प्रदेश सरकार हो, यसको अनुभूति हुने गरी राष्ट्र सेवक निजामती कर्मचारीले सेवा गर्न जरुरी छ’, मुख्यमन्त्री पोखरेलले भननुभयो– ‘हिजोकै प्रवृत्तिअनुसार कर्मचारीले काम गरे संघीयता आएको मतलब नै भएन नि । सरकारको स्थायी अंग, जो जनतासँग दैनिक रूपमा प्रत्यक्ष सम्बन्धित हुनुहुन्छ, जिम्मेवार रूपमा कार्यसम्पादन गरिदिनुहोला ।’ क्षमता अभिवृद्धि र कार्यशैलीमा परिवर्तन ल्याउनका लागि तालिमहरु हुने गरे पनि ती तालिमको उपलब्धि निकै कम हुने गरेको भन्दै मुख्यमन्त्री पोखरेलले अब यसमा सुधार हुन जरुरी रहेको बताउनुभएको छ ।

त्यस्तै, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्लेले जसले जहाँ काम गरे पनि नागरिकलाई सम्मानजनक तरिकाले सहजरूपमा सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो । त्यसै गरी, कार्यक्रममा प्रदेशका प्रमुख सचिव रविलाल पन्थले तालिममा जुसुकैले पनि ज्ञान, सीप र व्यहारमा परिवर्तन गर्ने शैली सिक्ने भएकाले त्यसको अधिकतम उपयोग गर्न आग्रह गर्नुभयो । उहाँले आफू सेवाग्राही भएर कार्यालयमा जाँदा जस्तो व्यवहारको अपेक्षा गरिन्छ, त्यसैअनुसार काम गर्न सके धेरै सुधार हुने भनाइ राख्नुभएको थियो । निजामती कर्मचारलाई तलब खाएर समाजसेवा गर्ने सुअवसर मिलेको उहाँको भनाइ थियो ।

प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले सहायकस्तरका कर्मचारीका लागि थालेको ३० दिने तालिममा कार्यालय सञ्चालन तथा व्यवस्थापनका बारेमा सैद्धान्तिक व्यावहारिक पक्षका विषयमा प्रशिक्षण दिइने जानकारी गराउनुभयो । कर्मचारीको ज्येष्ठताका आधारमा मापदण्ड बनाएर कर्मचारी छनोट गरिएको र पहिलो चरणमा ६० जनालाई तालिम दिएर दोस्रो चरणको तालिम शुरु गरेको बताउनुभयो । तालिममा ११ जिल्लामा संघ, प्रदेश र स्थानीय तहका कार्यालयका कर्मचारी सहभागी छन् ।

२२ महिनाअघि स्थापित प्रतिष्ठानले ५ वर्षे रणनीति बनाएर त्यहीअनुसार अगाडि बढेको उहाँले बताउनुभयो । २ वर्षभित्रमा सुविधासम्पन्न भवन निर्माण गरेर प्रशिक्षण र अनुसन्धानमा प्रतिष्ठानलाई अब्बल सावित गर्ने प्रतिबद्धता जनाउनुभयो । यो तालिम लिएपछि कर्मचारीको बढुवाका लागि २ नम्बर थपिन्छ । तालिमका सूचना प्रकाशन गर्दा १ सय ७८ जनाले आवेदन दिएको र तीमध्ये १ सय २० जना छानिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्