भारतीय मजदुरको हुँदैन कोरोना जाँच

तीन भारतीयमा देखियो कोरोना



बाँके ।

नेपालगञ्ज नाकाबाट दैनिक सयौं भारतीय नागरिक विभिन्न कामको सिलसिलामा नेपाल आउँछन् । पहाडी जिल्लाका नेपाली भारतमा मौसमी काम गर्न गएको जसरी सयौं भारतीय नागरिक दैनिक नेपालगञ्ज नाकाबाट मजदुरी गर्न नेपाल प्रवेश गर्छन् ।

बिहान ८ देखि १० बजेको बीचमा भारतबाट मजदुरी गर्न नेपालगञ्ज आउने भारतीय मजदुरको लाइन नै देखिन्छ । भारतीय मजदुर साइकलमा खाना बोकेर नेपालगञ्ज आउने गर्दछन् । नेपालगञ्ज औद्योगिक क्षेत्र, इँटाभट्टा, भवन र सडक निर्माणका लागि दैनिक सयौं भारतीय मजदुर नेपालगञ्ज आउँछन् ।

भारतबाट आउने यी मजदुरको नाकामा कोरोना जाँच हुँदैन । भारतमा ओमिक्रोनको संक्रमित बढिरहँदा भारतबाट आउने मजदुरले जोखिम बढाएका छन् । भारतबाट आउने नेपालीको जाँच भएको जसरी दैनिक मजदुरीका लागि आउने भारतीय नागरिकको पनि कोरोना गर्न आवश्यक देखिन्छ । बिहान खाना बोकेर आउने र साँझ फर्किने भारतीय मजदुरको संख्या ठूलो रहेको छ । नेपालगञ्ज औद्योगिक क्षेत्रभित्रका उद्योगहरूमा काम गर्ने अधिकांश कामदार भारतीय नागरिक रहेका छन् । उनीहरू बिहान आउँछन् र काम गरेर साँझ घर फर्किन्छन् ।
मंगलबार नेपालगञ्ज नाकामा दाङ तुलसीपुरको इँटाभट्टा र स्वर्गद्वारी तीर्थ जान थालेका तीन जना भारतीयलाई कोरोना देखिएपछि भारतबाट दैनिक मजदुरी गर्न आउनेले नेपालमा कोरोनाको जोखिम बढाएको पुष्टि गरेको छ ।

नेपालगञ्ज नाकामा रहेको हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीका अनुसार, भारत बहराइच, पिलिभित र मिहिपुरुवाका एक÷एक जनालाई नेपालगञ्ज नाका जाँच्दा कोरोना देखिएको छ । पिलिभितका दाङ जान थालेका थिए भने बहराइच र मिहिपुरुवाका स्वर्गद्वारी जान थालेका थिए । दाङ जान थालेका व्यक्ति इँटाभट्टामा काम गर्ने मजदुर हुन् भने बहराइच र मिहिपुरुवाका स्वर्गद्वारी तीर्थ गर्न जान थालेको ल्याब टेक्निसियन ज्ञवालीले जानकारी दिनुभयो । बाबु र छोरा तुलसीपुर इँटाभट्टामा जाँदै थिए ।

दुवै जनाको जाँच गर्दा छोरालाई कोरोना देखियो । बाबुको जिम्मा लगाएर उसलाई भारततिरै फर्काइयो । स्वर्गद्वारी जान थालेका बहराइचका तीन जना थिए । तीन जनामध्ये एक जनालाई कोरोना देखियो । उसलाई सीमावर्ती रुपैडिहाका स्वास्थ्यकर्मीको रोहबरमा घरतर्फ पठाइएको छ । स्वर्गद्वारी नै जान थालेका मिहिपुरुवाका पाँच जनामध्ये एक जनालाई कोरोना देखिएको छ ।

भारतमा ओमिक्रोनको संक्रमण बढेको छ । भारतमा संक्रमण देखिँदा नेपालमा त्यसको प्रभाव पर्ने गरेको छ । ठूलो संख्याका नेपाली भारतमा रहने भएकाले उनीहरू घर फर्किदा जोखिम बढ्ने गर्दछ । नेपालीले मात्रै होइन, भारतबाट दैनिक आउने मजदुरलगायतले पनि नेपालमा कोरोनाको जोखिम बढेको छ ।

ल्याब टेक्निसियन ज्ञवालीले बुधबारदेखि नेपालमा मजदुर गर्न आउने भारतीयको कोरोना जाँच गर्ने बताउनुभयो । ‘हामीले अहिलेसम्म नेपालमा मजदुर गर्न आउने भारतीयको जाँच गरेका थिएनौं, अब जाँच गर्नुपर्ने देखियो’, ल्याब टेक्निसियन ज्ञवालीले भन्नुभयो– दैनिक ठूलो संख्यामा नेपालमा मजदुरी गर्न आउँछन् । उनीहरू सबैको एक/एक नभए पनि समूहबाट मिलाएर जाँच गर्छौं ।’

नेपालगञ्ज नाकामा मंगलबार २ सय ९० जनाको कोरोना जाँच गरिएको थियो । त्यसमध्येमा तीन जना भारतीयलाई कोरोना देखिएको हो । यसैबीच, बाँकेका दुईवटा ल्याबमा ४६ जनाको परीक्षण गर्दा तीन जनामा कोरोना पुष्टि भएको छ । भेरी अस्पतालमा ३० जनामा दुई जना र वागेश्वरी ल्याबमा १६ जनाको जाँच गर्दा एक जनालाई कोरोना पुष्टि भएको हो । बाँकेमा मंगलबार एक जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्