कोइराला पक्षको भेला आज



काठमाडौं, (नेस) ।

हालै सम्पन्न कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका प्रत्यासी डा. शेखर कोइराला पक्षका नेताहरूको आज बुधबार बृहत् भेला बस्दैछ । आजको भेलाको बारेमा हिजो मंगलबार पनि कोइराला पक्षका नेताहरूबीच छलफल भएको थियो ।

महाधिवेशनको समीक्षा गर्न भेला डाकिएको भन्दै केन्द्रीय सदस्य मधु आचार्यले भन्नुभयो– ‘भेलामा कोइराला पक्षका सबै नेतालाई बोलाइएको छ ।’ हिजोको छलफलमा उपसभापति धनराज गुरुङ, उपसभापतिमा पराजित चन्द्र भण्डारी, महामन्त्री गगन थापा, महामन्त्रीमा पराजित मीनेन्द्र रिजाल, केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, बलबहादुर केसीलगायतको सहभागिता थियो ।

सभापति शेरबहादुर देउवालाई गुट उपगुटभन्दा माथि उठेर कार्य गर्न सुझाव दिँदै आउनुभएका डा. कोइरालाले पार्टीभित्र आफूले ४० प्रतिशत मत ल्याए पनि भागबण्डा नखोज्ने बताउनुभएको थियो । देउवाले हालै १३ जना केन्द्रीय सदस्य मनोनीत गर्दा गुटलाई प्रश्रय दिएको आरोप लागेको छ । सभापति देउवाले मनोनीतमा कोइराला पक्षका नेतालाई प्राथमिकता दिनुभएको छैन । आफ्नो प्यानलबाट पराजित उपसभापति, महामन्त्री र सहमहामन्त्रीलाई देउवाले केन्द्रीय सदस्य मनोनीत गरे पनि डा. कोइरालाको प्यानलबाट पराजितलाई मनोनीत गर्नुभएको छैन । हिजोको छलफलपछि केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भन्नुभयो– ‘राष्ट्रियसभा सदस्य उम्मेदवार तय गर्दा पनि प्रक्रिया पुर्याइएको छैन ।’ अहिलेसम्मको परिस्थितिबारे छलफल भएको भन्दै केसीले बुधबार दिउँसो २ बजे फेरि छलफल हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्