निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको निर्देशन



विराटनगर, (नेस) ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केही समयमा आउने तीनै तहका निर्वाचनको तयारीमा लाग्न आग्रह गर्नुभएको छ । मंगलबार धरान–२ मा नवनिर्मित नेपाली कांग्रेस क्षेत्र नं १ को पार्टी कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले केही समयमै आउने तीनै तहका निर्वाचनको तयारीमा लाग्न निर्देशन दिनुभएको हो ।

उहाँले महाधिवेशनको समयमा भएको प्रतिस्पर्धाको तुष नराखी पार्टी एकतामा जोड दिनुपर्ने र देशभरिका पार्टीका कार्यकर्ता एक भएर हिँडेमा मात्र पार्टी एकताबद्ध हुने बताउनुभयो । ‘सबैको सहयोगविना पार्टी एक हुन सक्दैन देशभरिका साथीहरू एक भएर हिँडेमात्र पार्टी पनि एक ढिक्का हुन्छ’ –प्रधानमन्त्री देउवाले बताउनुभयो । सबैको सहयोगले पार्टी सभापति भएको खुलाउँदै देउवाले यो कार्यकाल आफ्नो अन्तिम भएकाले पार्टीलाई एक बनाउने दायित्व आफ्नो भएको पनि बताउनुभयो ।

उहाँले पार्टी कार्यालय उद्घाटन गरेसँगै फोहोरमैला प्रशोधन केन्द्रको पनि उद्घाटन गर्नुका साथै उहाँले बसपार्कको समेत अवलोकन गर्नुभएको छ । काठमाडौंबाट हेलिकोप्टरमा गएका प्रधानमन्त्री देउवा धरान उपमहानगरपालिका–६ पानबारी रहेको फोहोर प्रशोधन केन्द्रमा पुगेर फोहोर प्रशोधन केन्द्रको उद्घाटन गर्नुभएको थियो । त्यसपछि प्रधानमन्त्री देउवा फोहोरमैला प्रशोधनबाट उत्पादन गरिएको ऊर्जाबाट सञ्चालन हुने सफारीमा बसेर घुम्नुभएको थियो ।

धरानमा पुस २० गतेदेखि २३ गतेसम्म धरान डे मनाउने निर्णय गरिएको छ । सोही अवसरमा मंगलबार धरानमा सार्वजनिक बिदा दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्