केडियाको सार्थक विवाह अभियान सफल बन्दै



काठमाडौं ।

सार्थक विवाह उत्सव एक नयाँ पहल यो शीर्षक सुन्दा कतिपयलाई अचम्म लाग्न सक्छ । हो समाजमा परिवर्तन ल्याउन कसैले पहिले यस्ता कामको थालनी गर्नुपर्दछ । यस्तो कामको थालनी उद्योगपति तथा राजनीतिज्ञ विमल केडियाले शुरु गर्नुभएको छ । लामो समयदेखि उद्योग व्यवसाय र पछिल्लो समय राजनीतिमा समेत सक्रिय रहँदै आएका केडिया आफ्नो छोराको विवाहलाई सार्थक बनाउने अभियानमा जोडिनुभएको थियो ।

मैले नगरे कसले गर्छ भन्ने उक्तिलाई आत्मसात् गर्दै केडियाले छोराको विवाहलाई सार्थक बनाउने सोच अघि सार्नुभएको थियो । विवाहको मिति नजिकिँदै गर्दा उहाँलाई केही न केही गर्ने सोचले कुतकुत्याइरह्यो । उहाँले छोराको विवाहको अवसरमा दुई चिज गर्ने योजना बनाउनुभयो । पहिलो छोराको विवाहमा विभिन्न धर्ममा आस्था राख्ने धर्म गुरुहरूलाई बोलाएर सामूहिक रूपमा आशिर्वचन दिन लगाउने र विवाह उत्सवमा राजधानी वरिपरिको कुनै ठाउँमा वृक्षरोपण गरेर त्यसलाई अध्ययन सेन्टर बनाउने ।

उहाँको उक्त विचारलाई परिवार र आफन्तले सहर्ष स्वीकार गर्दै अघि बढ्न आग्रह गरे । समाजमा केही न केही गरेर आफ्नो सामाजिक दायित्व पूरा गर्न अग्रसर हुने केडियाले हिन्दु, शिख, जैन, बुद्ध, क्रिस्चियन र इस्लाम धर्मगुरुलाई विवाह उत्सवमा बोलाएर एउटै मञ्चबाट छोरालाई आशिर्वाद दिन लगाउनु मात्र नभएर मुलुकका विभिन्न भागमा बस्दै आएका सबै धर्मावलम्वीहरू सँगै मिलेर बसेको सन्देश दिन समेत सफल हुनुभएको थियो ।

विवाह समारोहमा सरिक भएका प्रधानमन्त्रीदेखि व्यापारी, उद्योगी र विभिन्न क्षेत्रका ख्याती कमाएका व्यक्तिहरूले समेत उक्त कार्यक्रमलाई आफूहरूले पनि कहीं न कहीँ लागू गर्ने बताएपछि केडियाले आफूले अघि सारेको सार्थक विवाहको अभियान सफल भएको महसुस गर्नुभएको छ । उहाँले तारकेश्वर मन्दिर परिसरमा वृक्षरोपण गरेर त्यसलाई बोटानिकल अध्ययन केन्द्र बनाउने सोचले समेत सार्थकता पाएकोमा प्रफुल्ल हुनुभएको छ ।

मंगलबार उहाँले सार्थक विवाहको बारेमा जानकारी दिन आयोजना गर्नुभएको भेटघाट कार्यक्रममा समयअनुरूप परिवर्तन आवश्यक हुन्छ भन्ने आफ्नो अठोटलाई पूरा गर्न पाएकोमा खुसी साट्नुभएको थियो । उहाँले महाकाली मन्दिर परिसरमा गरिने वृक्षरोपणमा पहिलो चरणमा ५० लाख खर्च गर्ने योजना बनाउनुभएको छ ।

समाजका लागि केही गरौं भन्ने भावना बोकेका केडियाले त्यस क्षेत्रमा गरिने वृक्षरोपणको रोखदेखदेखि त्यसको संरक्षणसमेत केडिया अर्गनाइजेसनले नै गर्ने बताउनुभएको छ । नयाँनयाँ सोच ल्याएर मुलुकको विकासमा केही टेवा दिन सकिन्छ कि भन्ने भावना बोकेका केडियाले नेपाललाई कृषिमा आत्मनिर्भर बनाउने अभियानको समेत थालनी गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्